महोत्तरी– मधेश प्रदेशको व्यस्त सडक मानिएको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दिबास सडक खण्डमा ठेलागाँडा मजदुरहरूसँग पैसा असुल गरेर सडक जाम गराउने गरेको खुलासा भएको छ ।
जनही ३ सयदेखि ९ सयसम्म पैसा असुल गरेर सडक पेटीलाई कमाउने धन्दा बनाउने गरेको तथ्य बाहिरिएपछि बर्दिबास नगरक्षेत्रमा सडकको थप अस्तव्यस्तताको कारक खुलासा भएको हो ।
सडक किनारामा राखिएका ठेलागाँडा पसलहरूले ९ सय रुपैयाँ दिने गरेको स्वीकार गरेका छन् । ‘म जहिल्यै ढल्केवरवाट ठेलामा समान ल्याएर यहाँ बेच्ने गर्छु ‘, दीपक भनिने एक ठेला व्यापारीले भने ‘पैसा दिएपछि खासै समस्या पनि हुँदैन त्यसैले अन्य साथीहरू पनि बाहिरबाट यहाँ नै आउनुहुन्छ ।’
अन्य ठाउँमा सामान लिएर जाँदा व्यापार नहुने र बर्दिबासका सडक किनारामा राख्दा भनेजस्तो व्यापार चल्ने हुँदा खुसीले नै उक्त पैसा दिने गरेको उनीहरूले बत्ताएका छन् । सडकपेटीहरु अस्तव्यस्त भएको व्यापक जनगुनासो बढिरहेको भन्दै बर्दिबास नगरपालिकाले बिहान-बेलुका केही कर्मचारी र नगर प्रहरी समेत खटाउने गर्दछ ।
तर यसका वावजुत पनि सडकको दुरावस्था यथावत् रहिरहेको वेला ठेला गाँडाहरूसँग पैसा उठाएर संरक्षण गरिएको तथ्यले आम मानिसहरूलाई झस्काएको छ ।
कसलाई दिन्छन् पैसा ?
ठेला व्यापारीहरूले पैसा उठाएर दिनेश भनिने अर्को व्यापारीलाई दिने र उनकै माध्यमबाट पैसा सम्बन्धित ठाउँमा पुग्ने गरेको पाइएको छ ।यता दिनेशले उक्त पैसा संकलन गरेको स्वीकार गरेका छन् । बजारको ठेक्का पाएका विजय महतोको निर्देशनमा उक्त पैसा असुल गरेको उनले बताए ।
‘मैले पैसा संकलन गरेको नै हौ । तर त्यो पैसा विजय महतोलाई दिने गरेको छु’, उनले भने ‘यति भएपछि यहाँ नै राखेर निर्वाधरुपमा व्यापार गर्न पाइन्छ ।’
ठेलाको लागि औरही सडक खण्डमा ठाउँ निर्धारण गरेपनी त्यहाँ व्यापार नहुने गरेको उनीहरूको भनाई छ । मुख्य राजमार्गको छेउछाउमा भनेजस्तो व्यापार हुने भएकाले उक्त पैसा दिन बाध्य भएको आधा दर्जन ठेला व्यापारीहरूको हामीलाई अडियो रेकर्ड समेत प्राप्त भएको छ ।
बजारको ठेक्का पाएका विजय महतोले पनि पैसा आफूलाई ठेलागाँडावालाहरुले मनखुसीले दिएको र उक्त पैसा लिएको स्वीकार गरेका छन् । ‘मलाई माछा मासु खानु भनेर उनीहरूले नै दिएका हुन । मैले मागेको हैन’, उनले भने ‘यसमा नगरपालिकाका कर्मचारीहरूको कुनै हात छैन ।’
तर सडक पेटीमा अनाधिकृतरुपमा ठेला तथा अन्य पसलहरू राखेर सडक अस्तव्यस्त बनाउनेहरूलाई हटाउने जिम्मेवारी लिएका उनीहरूले ठेलागाँडाहरुलाई किन हटाएनन् भन्ने गम्भीर प्रश्न वनेको छ । ‘विजय महतोको माध्यमबाट सबै विषय बाहिर आउन सक्छ,’ स्थानीय व्यवसायी गुन्ज कार्कीले भने ‘जिम्मेवारी लिएर हरेक क्षेत्रलाई गरिखाने भाँडो बनाउने जोकोहीलाई कडा कारबाही गर्नुपर्छ ।’
‘कर तिरेर व्यापार गर्ने व्यापारीहरूको मर्म विपरीत गरिएको कार्य दुःखद’
कर तिरेर औपचारिकरुपमा व्यापार गर्नेहरूको मर्म विपरीत सडक पेटीलाई निजी सम्पत्ति बनाएका जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खडकाले बताए ।
नगरपालिकाको संरक्षण देखिने गरी ठेलागाँडा व्यापारीसँग पैसा असुल्नु दुःखद भएको बत्ताउँदै सडक दुर्घटनाको कारक एकातिर बन्ने र अर्कोतिर स्थानीय व्यापारीहरू उपेक्षामा परेको वताउछन ।
‘विजय महतो भन्ने व्यक्तिले कसको निर्देशनमा ठेलागाँडा त्यहाँ राख्न दिए भन्ने विषय महत्त्वपूर्ण हो’ अध्यक्ष खडकाले भने ‘ यदि उनी आफैले त्यो वातावरण सिर्जना गरेका हुन भने कुन कानुनमा आधारित भएर गरेका हुन त ?’
ठेला गाँडामा राखिएका पसलहरूको कारण अस्तव्यस्त बनिरहेको सडकको विषयलाई लिएर पत्रकारहरूले केही दिन अगाडि जिल्ला ट्राफिक कार्यालयमा समेत सामूहिक ध्यानाकर्षण जनाएका थिए ।
नगर प्रवक्ता विजय महतो भने यसको विषयमा छानबिन गर्ने बत्ताएका छन् । ‘बजार व्यवस्थापन समितिमा छलफल गरेर बुझ्नेछु,’ प्रवक्ता महतोले भने ‘मलाई पनि थाहा थिएन यसलाई गम्भीर रूपमा लिएका छौ ।’