कतार– पर्वत समाज कतारले बहुउद्देश्यीय अक्षयकोषको प्रथम अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
समाजले २६ अप्रिलमा स्थापना गरेको अक्षयकोषको दीर्घकालीन योजनालाई थप मजबुत र चिरस्थायी बनाउन नेपालबाट चर्चित लोकदोहोरी गायिका प्रतिभा चापागाईँ दोहा आउने भएकी हुन् । साथमा कतारमा रहेका स्थानीय कलाकारहरूको धमकेदार प्रस्तुति रहने पर्वत समाज कतारका वर्तमान अध्यक्ष रघु शर्माले जानकारी दिए ।
‘मानवीय कार्यमा हजुर हामीको साथ, अक्षयकोषको स्थापना दीर्घकालीन परियोजना’ भन्ने मुख्य उद्देश्यका साथ समाज कतारको संरक्षकत्वमा रहेको ‘बहुउद्देश्यीय अक्षयकोष’ संस्थाले कर्मभूमि कतार र जिल्लामा भई परी आउने हरेक समस्याहरूको दिगो समाधान गर्ने उद्देश्यले बहुउद्देश्यीय कोष निर्माणार्थ सांस्कृतिक कार्यक्रम आयोजना गरी रकम संकलनमा थप वृद्धि विकास गर्ने लक्ष्य राखेको छ ।
बहुउद्देश्यीय अक्षयकोष स्थापनाले जिल्लाका हरेक दुख सुखमा संस्थाको उपस्थितिसहित सामाजिक संस्थाको दायित्व तथा कर्तव्य बुझाउने विश्वास लिएको छ । संस्थाले बहुउद्देश्यीय अक्षयकोष प्रथम अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रमको संयोजकमा छविलाल भट्टराईलाई कार्यभार दिएको छ ।
आगामी शुक्रवार १३ सेप्टेम्बर २०२४ का दिन सनैया स्थित लालिगुँरास रेस्टुरेन्टको सभा हलमा प्रथम बहुउद्देश्यीय अक्षयकोषको अधिवेशन पश्चात् कोषले पूर्ण कार्यकारी समिति प्राप्त गर्नेछ ।