गोरखा– चुमनुब्री गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र (एमक्याप)भित्र आउने स्वदेशी तथा विदेशी पर्यटकसँग शुल्क उठाउने भएको छ ।
पालिकाको आर्थिक ऐन ०८१ अनुसार प्रतिव्यक्ति विदेशीसँग १ हजार र नेपालीसँग २ सय रुपैयाँ उठाउने निर्णय भएको हाे ।
भदौ २० गते पालिकाका जनप्रतिनिधि, राजनीतिक दल, पर्यटन व्यवसायी तथा सरोकारवालासँग छलफल गरेर उक्त निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिएका छन् ।
एमक्याप क्षेत्रमा जाने पर्यटकसँग सम्बन्धिन संरक्षण तथा निकुञ्ज ऐनबमोजिम राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अध्यागमन विभागले शुल्क उठाउँदै आएको छ ।
आफ्नो अधिकार क्षेत्रभित्र पनि शुल्क उठाउन नपाउँदा अपेक्षित कर संकलन गर्न नसकिएको र कोषले पनि उठेको शुल्क बाँडफाँट नगरेको पालिकाले जनाएको छ ।
‘पालिकाले उठाएको पदयात्रा शुल्कबाट समग्र चुमनुब्री तथा मनास्लु संरक्षण क्षेत्रको वातावरण संरक्षण एवं पर्यटन क्षेत्र प्रवर्द्धनमा लगानी गरिने व्यहोरासमेत निर्णयानुसार अनुरोध छ’, पालिकाले सूचनामार्फत भनेको छ