काठमाडौं- निजी क्षेत्रबाट सञ्चालित वाणिज्य बैंकहरु मध्ये आक्रामक रुपमा बजार विस्तार गरिरहेको बैंक एनआईसी एशियामाथि पछिल्लो समय ग्राहकले विश्वास गर्न छाडेका छन् । बजारमा विभिन्न काण्डको कारण पनि बैंक माथि सर्वसाधरणको विश्वास गुमाउँदै गएको देखिन्छ ।
‘बैंक पनि साथी पनि’ भन्ने लोकप्रिय नारा बोकेर बजारमा आक्रामक रूपमा भित्रिएकाे एनआईसी पछिल्लाे समय सर्वसाधरणले ‘बैंक पनि खतरा पनि’ भन्ने गरेको पाइएको छ । सर्वसाधरणको विश्वास गुमाउँदै जाँदा पछिलो समय बैंकिङ सुशासनमा समेत कमजोर बन्दै गइरहेकाे छ।
बैंकले बैंकको व्यवहार भन्दा पनि साहुको जस्तो व्यवहार गर्न थालेपछि पछिल्लो समय ठुला र व्यावसायिक समूहले समेत एनआईसीसंग कारोबार गर्न छाड्न थालेका छन् । एनआईसीले सुरुवातमा देशभर शाखा विस्तार गरी उपस्थिति बलियो देखाए पनि बैंकिङ सुशासन कमजोर भएकाले धमाधम शाखाहरु समेत बन्द गर्ने अवस्थामा पुग्याे । बैंकको लागत बढेको भन्दै शाखा र कर्मचारी थेग्न नसक्दा शाखा मर्ज गर्ने नीति समेत अपनाई सकेको छ ।
गत फागुन महिनामा नै शाखा संख्या अनुसार व्यापार नभएपछि करिब ५० भन्दा बढी शाखा र एक्सटेन्सन काउन्टर बैंकले बन्द गर्नु परेको थियो । बैंकले शाखा बन्द गर्दा विवाद समेत भएको थियो । बैंकका अधिकांश सूचकहरु समेत ऋणात्मक रहेका छन् । बैंकको प्राथमिक पुँजीकोष अनुपात नपुग्दा राष्ट्र बैंकले लाभांश वितरणमा समेत रोक लगाएको थियो । बैंकले पछिल्ला दुई आर्थिक वर्षसम्म लगानीकर्तालाई लाभांश दिन सकेको थिएन ।
शेयर मूल्य निरन्तर ओरालो
बैंकको शेयर मूल्य निरन्तर ओरालो लागेको छ । गत असार १३ गतेसम्म सबैभन्दा महंगो प्रतिकित्ता ७८५.५० रुपैयाँ शेयर एक वर्षमा घटेर ५३७.७० रुपैयाँ रहेको छ । दोस्रोमा रहेको नबिल बैंक अहिले सबै भन्दा मँहगो शेयर मूल्य भएको बैंक भएको छ । प्रतिकित्ता ६०६ रुपैयाँ रहेको नबिलको मूल्य अहिले ६६२ रुपैयाँ सम्म कारोबार भइरहेको छ ।
आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर वितरणयोग्य नाफा १५ रुपैयाँ ४५ पैसा ऋणात्मक छ । प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड रुपैयाँ छ भने रिजर्भमा १७ अर्ब ५५ करोड छ । यसरी पुँजीबजारमा समेत एनआईसीप्रति सर्वसाधरण तथा लगानीकर्ताको आकर्षण घट्दै गएको तथ्यले प्रमाणित गरिरहेको छ ।
एनआईसीप्रति ग्राहक तथा सर्वसाधरणहरुको आकर्षण कम हुनु पछिल्लो समय बैंकले गर्दै आएका व्यवहार र सुशासन कायम गर्न नसक्नु प्रमुख कारण हो। त्यस्तै, बैंकले ग्राहक तथा ऋणहरुलाई दिएको टचर तथा विधि काण्डै काण्डको कारण पनि सर्वसाधरणले बैंकपति विश्वास गुमाउँदै गएको देखिन्छ ।
नाफामा उच्च गिरावट
एनआईसीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार नाफामा उच्च गिरावट भएको छ । बैंकको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ६८.९ प्रतिशत घटेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । तर, गत आर्थिक वर्षमा ६८.९ प्रतिशत घटेर जम्मा १ अर्ब ३८ करोड मात्रै नाफा आर्जन गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी घट्नु र लोन लस प्रोभिजन बढ्नुले नाफामा उच्च गिरावट आएको देखिन्छ । बैंकको खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । बैंकको अघिल्लो आर्थिक वर्ष १२ अर्ब २५ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १० अर्ब ६१ करोड मात्रै छ ।
बैंकले लोन लस प्रोभिजन वापत २ अर्ब ८४ करोड रुपैयाँ छुट्याएको छ, अघिल्लो पटक यस्तो प्रोभिजन रकम ७२ करोड रहेको थियो । बैंकको खुद नाफा घट्दा प्रतिशेयर आम्दानी पनि समेत घटेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्ष ३८ रुपैयाँ ४४ पैसा रहेकोमा अहिले ९ रुपैयाँ २६ पैसा छ । अहिले बैंकको वितरणयोग्य नाफा रकम समेत २ अर्ब ३० करोड ऋणात्मक देखिएको छ ।
निष्क्रिय कर्जा वृद्धि
सञ्चालनमा रहेका २० मध्ये ७ बैंकले निष्क्रिय कर्जा घटाउन सफल भएका छन् । तर निष्क्रिय कर्जा घटाउन नसक्ने १३ वाणिज्य बैंक मध्य एनआईसी एसिया बैंक एक हो । कुमारी, हिमालयन, प्रभु, प्राइम, राष्ट्रिय वाणिज्य, नेपाल एसबीआई र एभरेष्ट बैंकले निष्क्रिय कर्जा घटाउँदा एनआईसी एसिया,लक्ष्मी सनराइज, माछापुच्छ्रे र ग्लोबल आईएमई बैंकको निष्क्रिय कर्जा वृद्धि भएको छ ।
गत आर्थिक वर्षमा निष्क्रिय कर्जा सबैभन्दा बढी बढाउने बैंकमा एनआईसी एशिया अग्रस्थानमा देखिएको छ । बैंकको निष्क्रिय कर्जाको आकार ०.८८ प्रतिशतबाट २.५३ प्रतिशत बिन्दुले बढेर ३.४१ प्रतिशत कायम भएको छ ।
बैंकले राष्ट्र बैंकको नीति र निर्देशन भन्दा बाहिर गएर कर्जा प्रवाह गर्दा अहिले बैंकको निष्क्रिय कर्जा समेत वृद्धि हुँदै गएको छ । बैंकमा खराब कर्जा वृद्धि हुँर्दै जानु राम्रो मानिदैन । गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार एनआईसीको निष्क्रिय कर्जा बढेको देखिएको छ । आघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो कर्जा ०.११ प्रतिशत रहेकोमा गत आर्थिक वर्ष २०८०/८१ मा १.७४ प्रतिशत पुगेको छ ।
पछिल्लो एक वर्षको अवधिमा बैंकको कर्जा प्रवाह ३.९५ प्रतिशत मात्रै बढेर असार मसान्तसम्म कुल २ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
कर्जा असुली गर्न छुट तर, असफल
एनआईसीले ऋणहरुसँग कर्जा असुली गर्नको लागि आकर्षक सहुलियत छुट सुविधा समेत आएको थियो । तर, बैंकले कर्जा असुल गर्न छुट दिँदा पनि निष्क्रिय कर्जा कम गर्न सकेन । बैंकले कर्जा लिएका आफ्ना ग्राहकलाई लक्षित गरी छुट योजना सार्वजनिक गरिएको थियो ।
बैंकले २०८० चैत मसान्तसम्म भाखा नाघेका ऋणीहरूको हकमा जेठ २०८१ सम्म सबै कर्जा भुक्तानी गरेमा जरिबाना तथा हर्जाना रकममा शत प्रतिशत र साधारण बक्यौता ब्याज रकममा समेत छुट दिए पनि ऋणहरुबाट कर्जा असुलीमा कमजोर देखिएको छ ।
बैंकले भाखा नाघेको समयावधिसाधारण ब्याज रकममा ९१ दिनदेखि १८० दिन १५ प्रतिशत,१८१ दिनदेखि ३६५ दिन२५ प्रतिशत र ३६५ दिनभन्दा बढी३५ प्रतिशत छुट घोषणा गरेको थियो ।
तर बैंकले जुन उदेश्यले ऋणीहरुलाई सहुलियत छुट दिए पनि उदेश्य अनुरुप कर्जा असुलीमा विफल बन्न पुगेको छ । कर्जा असुलीमा विफल हुँदा निष्क्रिय कर्जा सबै भन्दा बढी वृद्धि हुनेमा एनआईसी एसिया बैंक देखिएको छ ।
निफ्राको शेयर बिक्रि
एनआईसीको अधिकांश आर्थिक सूचकहरु नकारात्मक भइरहेको अस्थामा बैंकले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)बाट आफ्नो लगानी झिक्न खोजेको छ । बैंकको स्वामित्वमा रहेको निफ्राको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ ।
निफ्राले उक्त केही समयअधिनै एनआईसीको शेयर प्रतिकित्ता १०१ रुपैयाँका दरले बिक्रीमा राखेको थियो । संस्थागत शेयरधनीलाई मात्र नभएर कम्पनीले सर्वसाधारण, संघ/संस्थाहरुलाई समेत खरिदका लागि आवेदन दिन मिल्ने गरी बिक्रीमा राखिएको थियो । निफ्राको शेयर समेत बिक्रि गरेसँगै एनआईसीमा समस्या देखिएको स्पष्ट देखिन्छ ।
बैंकले शाखाहरु गाउँ देखि शहरसम्म पु¥याएर बैकिङ सेवा दिए पनि पछिल्लो समय बैंक भन्दा पनि मिटर ब्याजीको व्यवहार देखाउँदा एनआईसीले सर्वसाधरणको विश्वास गुमाउन पुगेको छ । बैंकप्रति सर्वसाधरणको आकर्षण घट्दै जाँदा बैंकको समग्र आर्थिक स्वास्थ्यमा समस्या देखिएको छ ।
बैंकले नीति नियम भन्दा बाहिर गएको भन्दै राष्ट्र बैंकले बारम्बार कारबाहीको समेत गर्दै आएको छ । बैंकले ग्राहकसंग बढी ब्याज लिएको भन्दै केही समय अघि राष्ट्र बैंकको कारबाहीमा परेको थियो ।
काण्डै काण्डले भरिएको बैंक
नेपालमा सञ्चालित बैंकहरुमध्ये सबैभन्दा धेरै काण्डै काण्ड हुने बैंकको शिर्ष स्थानमा एनआइसी रहेको छ ।
यो बैंकले ग्राहकलाई दुःख दिनेदेखि लिएर बैंकका कर्मचारीहरुको समेत श्रम शोषण गर्ने गरेका समय–समय तथ्यहरु बाहिर आउने गरेका छन् । शुरुवाती दिनमाहरु सबैभन्दा विश्वासीलो र भरपर्दो दाबी गर्ने बैंकप्रति अहिले सबैको विश्वास छुट्दै गएको पाइन्छ ।
बैंकको नारा ‘बैंक पनि साथी पनि’ भनिए पनि बैंकले ग्राहकलाई गर्ने व्यवहार भने ‘दुस्मन’को जस्तो रहेको अधिकांश व्यवसायीहरुले खुल्ला रुपमा बोल्दै आएका छन्।
बैंकले ग्राहक ठग्नको लागि बैंकका कर्मचारीकै मिलेमतोमा नक्कली धनीपूर्जा बनाएर ऋण दिएको समेत प्रमाणित समेत भइसकेका छन् । त्यस्तै, एनआईसीमा कर्मचारीको मिलेमतोमा ग्राहकको पैसा चोरी हुन्छ भने कहिले साइबर सुरक्षामा ध्यान नदिदा ह्याक भएर पैसा चोरी हुने र खातामा पैसा हुँदा पनि बैंकले नदिनेसम्मका हर्कत गर्ने गरेका गुनासा बजारमा प्रश्वता पाइन्छ ।
बैंकले ग्राहकलाई ठग्ने मात्रै नभएर नियमनकारी निकाय राष्ट्र बैंकलाई समेत छल्ने काम गरेको भन्दै कारबाही भोग्नु परेको थियो । बैंकले प्रवाह गरेको कर्जाको स्थिति र बैंकले पेस गरेको वित्तीय विवरण फरक पठाएको थियो ।
राष्ट्र बैंकको नीतिभन्दा विपरीत गएर बैंकले कर्जा प्रवाह गरेको र आफ्नो वासेल रिपोर्टमा गलत तथ्य पेस गरेको राष्ट्र बैंकको प्रारम्भिक अध्ययनले समेत प्रामाणित गरेको थियो । बैंकले पुँजीकोष मिलान गर्न वासेल रिपोर्टमा १ खर्ब ३४ अर्ब रुपैयाँको फर्जी कर्जा समेत देखाएर विवरण पठाएको थियो ।
त्यतिबेला बैंकको २ खर्ब ९३ अर्ब कुल कर्जा प्रवाहमध्ये आवासीय कर्जामा करिब ४७ प्रतिशत देखाइएको थियो । तर राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार आवासीय कर्जामा अधिकतम २५ प्रतिशत मात्रै कर्जा प्रवाह गर्न पाइन्छ ।
ऋणीलाई बिचल्ली बनाउन उद्यत
बैंकले ग्राहक अर्थात ऋणहरुबाट दिएको ऋण भन्दा पनि धितो असुल गर्न खोज्दा सर्वसाधरणबाट विश्वास गुमाउन पुगेको छ । बैंकले ऋणहरुबाट ऋण उठाउने भन्दा पनि धितो असुली गर्दा धेरै ऋणीहरुलाई बिचल्ली समेत बनाएको छ ।
एनआइसीमा व्यवस्थापकीय कमजोर हुँदा स्विफ्ट ह्याक प्रकरणले निकै नै कमजोर बनेको थियो । धेरै सर्वसाधारणको सम्पत्ति कब्जा गरेको तथ्य समेत प्रकाशित भइसकेको छ । बैंकले कर्जा बापत बैंकमा राखेको ग्राहकको धितोलाई कब्जामा लिएको तथ्य यसअघि नै सार्वजनिक भएको छ । ओेरिन्टल सहकारी संस्थाको स्वामित्वमा रहेको जग्गा विगत चार वर्ष देखि एनआईसी एसिया बैंकले जबरजस्ती कानून विपरित कब्जा गरेको छ।
एनआईसी एसिया बैंकले काठमाडौंको धापासी हाइटमा रहेको ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेतको २६ रोपनी ९ आना जग्गा कब्जा गरेको छ । ओरेन्टल सहकारी संस्थाको स्वामित्वमा रहेको बर्तमान बजार मूल्यमा अर्बौं रुपैयाँ पर्ने जग्गा कौडीको मूल्यमा बैंकले कब्जामा लिएको पाईएको छ । उक्त बैंकले कब्जामा लिएको जग्गाको अहिले बजार मूल्य २ अर्ब भन्दा माथि रहेको छ ।
ओरेन्टल सहकारीको स्वामित्वमा रहेको साबिक काठमाडौंको धापासी गाविस वडा नम्बर २ र ३ को २६ रोपनी ९ आना जग्गा कौडीको मूल्यमा कब्जा गरेको स्रोत दाबी छ । उक्त जग्गा अहिले बजारमा डेढ अर्बभन्दा बढी मूल्य पर्ने भए पनि एनआइसीले २० करोड मूल्य बराबरको मूल्याङकन गरी जग्गा कब्जा गरेको देखिन्छ ।
बैंकबाट ओरेन्टल सहकारीका अध्यक्ष सुधिर बस्नेतले ओरिएन्टल विल्डर्स एण्ड डेभलपर्स भौतिक संरचना निर्माणका लागि ओरियन्टल बिल्डर्सले ०६६ साल जेठमा धापासीको २४ रोपनी ९ आना जग्गा धितो राखेर एनआईसी बाट २० करोड ओभरड्राफ्ट कर्जा लिएका थिए । बस्नेतले उक्त जग्गामा झन्डै ३० करोड लगानीमा भौतिक संरचना निर्माण थालेका थिए ।
तर, कम्पनी टाट पल्टिएपछि ऋण तिर्न सकेनन् । ऋणको नियमित साँवाको किस्ता र ब्याज गरी २३ करोड ६८ लाख बुझाउन नसकेसँगै बैंकले ०६९ माघमा ओरियन्टलको उक्त सबै सम्पत्ति आफ्नै नाममा बैंकले सकारेको थियो ।
यता बस्नेत ओरिएन्टल विल्डर्स एण्ड डेभलपर्सका लागि भौतिक संरचना निर्माण गर्दै गर्दा सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका थिए । बस्नेत पक्राउ परेसँगै बैंकले धितो सकारगरी बैंक आफैले परियोना जबरजस्ती कब्जामा लिएको स्रोतको दाबी छ ।
बैंकले ०६६ सालमा ऋण दिँदा धितोको मूल्याङकन २५ करोड ३२ लाख गरेको थियो । बस्नेतले तिर्नुपर्ने कुल रकम २३ करोड ६८ लाख उठाउन यो सबै सम्पत्ति कब्जा गरेको हो । बैंकले २३ करोड ठाउन ३० करोड रुपैयाँ लगानी गरेर निर्माण गरेको भौतिक संरचनाको कुनै मूल्याङकन र हिसाबै नगरी जबरजस्ती जग्गा हडपेको छ ।
बैंकले कर्जा गरेको परियोजनाको कारोबार अवस्था बिग्रेको अवस्थामा कर्जा बाफत राखिएको धितो लिलाम सकार गरी नियम कानून विपरित निक्षेपकर्ताले कर्जा बापत राखेको धितो सकार र्फिता दिन नमानेको भन्दै अध्यक्ष बस्नेतले गत २०७९ माघ १८ गते कर्जा बापतको धितो र्फिता गर्नेको लागि नेपाल राष्ट्र बैंकलाई पत्रचार गरेका थिए । तर बैंकले अहिलेसम्म उक्त कर्जा बापतको धितो र्फिता गरेको छैन ।
बैंकले ओरिएन्टल विल्डर्स एण्ड डेभलपर्सका लागि भौतिक संरचना निर्माण गर्न २० करोड कर्जामा उक्त जग्गा कब्जा गर्दा ओरेन्टल सहकारी पीडितहरुले समेत अहिलेसम्म रकम र्फिता पाउन सकेका छैन ।
त्यतिमात्र होइन बैंकले सुर्खेतमा बसेर व्यवसाय गर्ने अलि दम्पत्तीलाई सडकमा पु¥याइदिएको थियो । दम्पत्तीहरुसँग भएको करिब ६ करोड बराबरको सम्पत्ति एनआइसीले मिलेमतोमार्फत ८७ लाखमा लिलाम गरेको थियो ।
लिलामी गर्दा हुनुपर्ने प्रक्रियासमेत पुरा नगरी बैँकले ठाडो लिलामी गरेको भन्दै चर्को विवाद भएको थियो । त्यस्तै, सुनसरीको इटहरीमा पनि बैंकले ऋणीको घरमै गार्ड राख्ने तथा ऋणीलाई नजरबन्दमा नै राख्यो काम गेको भन्दै चौतर्फी विरोध भएको थियो । ग्राहकहरुले बैंकले चौतर्फि रुपमा आंतक मच्चाएपछि राष्ट्र बैंकले एनआईसीलाई यस्तो कार्य नगर्न सचेत समेत गराउनु परेको थियो ।
बैंकले उद्योगी व्यवसायीहरुले लगेको ऋण नतिरेको भन्दै पत्रपत्रिकामा फोटो सहित नाम प्रकाशित गर्ने जस्ता कार्य समेत गर्दै आएको छ । बैंकका कर्मचारीहरूले राति १२ बजे समेत ऋणीलाई फोन गरेर टर्चर दिने, सार्वजनिक बिदाको दिन समेत ऋणीको घरमै पुगेर पूरै समाजकै अगाडि बेइज्जत गर्ने समेतका कार्य गरी ऋणीलाई मर्नुपर्ने अवस्थामा बैंकले पु¥याउने गरेको छ ।
बैंकको टर्चरका कारण कयौँ ऋणीले आत्महत्या गर्नुका साथै घरपरिवार नै सकाएको समेत उदाहरण छन् । त्यस्ता धेरै घटनाहरु एनआईसीसँग धेरै जोडिएका छन् । बैंकले यस्ता गलत अभ्यासका कारणले पनि थप संकटउन्मुख बन्दै गएको देखिन्छ ।
यसरी बैंककै गलत व्यवहार र मिटरब्याजीपनको कारण बैंकको विश्वास सर्वसाधरणमा टुट्न थालेको छ । सर्वसाधरणले बैंकको विश्वास तोड्न थाले भने भविष्यमा बैंकको पनि सहकारीको हालतमा बन्ने अवस्था आउन सक्छ ।
याे पनि,
संकटको बाटो पछ्याउँदै एनआईसी एसिया, निफ्राबाट किन बाहिरियो?
बैंकको आतंक बढ्दै, ऋणीलाई दिनरात टर्चर दिदैं एनआइसी एसिया, राष्ट्र बैक मूकदर्शक!
धापासीको अर्बौँको जग्गा कौडीको भाउमा कब्जा गर्दै ‘एनआईसी एशिया’
संकटमा एनआइसी: ‘रिकभरी’मा समस्यापछि भाखा नाघेका ऋणीलाई भुक्तानीमा छुट
संकटको बाटो पछ्याउँदै एनआईसी एशिया, ऋण भन्दा धितो असुलेर ‘बिचल्ली बनाउन उद्यत’
संकटमा एनआईसी: ऋण उठाउन नसकेपछि गुहार्यो ‘कम्पनी रजिस्ट्रार कार्यालय’
संकटमा एनआईसी: भू-माफियाको मिलेमतोमा ऋणीको धितो बिक्री, स्थानीय आन्दोलित