सिरहा– धनगढीमाई नगरपालिका जनप्रतिनिधि तथा कर्मचारीको सेटिङमा आर्थिक लाभकै लागी कानुनको धज्जी उडाउँदै ३५ दिने निकाल्नु पर्ने सूचना १५ दिनकै लागि प्रकाशन गरिएको छ।
नगरपालिकाले प्रथम पटक निकालिएको सूचनामा पाँच वटा गुदरी हाटबजारका लागि २२ लाख ७५ हजार रुपैयाँको सूचना १५ दिनकै लागि आवह्नान गरिएको हो।
नगरपालिकाले असार १५ गते हाटबजार ठेक्का बन्दोबस्त सम्बन्धी १५ दिने सूचना प्रकाशन गरेको थियाे । प्रथम पटक प्रकाशित सूचनामा धनगढी, जिरोमाईल र छपराडी बजारको न्यूनतम दर १९ लाख ७५ हजार रुपैयाँ तथा कसहा र भवानीपुर बजारको तीन लाख रुपैयाँको सूचना प्रकाशन गर्यो ।
सूचना अवधिमा बजार ठेक्का नलागेपछि दोस्रो पटक प्रकाशित भएको सूचना पालिकाको वेबसाइटमा देखिन्न तर, ०८१ साउन ८ गते पुनः तेस्रो पटक सूचना प्रकाशन भयो। यो सूचनामा भने पाँचवटै बजारको न्यूनतम दर एकमुस्ट ३० लाख रुपैयाँ उल्लेख भएको छ ।
सामान्यतया ठेक्का आवह्नान गर्दा पहिलो, दोस्रो र तेस्रो पटक ठेक्का नलाग्दा निर्धारित रकम घटाएर सूचना प्रकाशन गर्ने प्रावधान छ। तर, नगरपालिकाले प्रथम पटक प्रकाशित सूचनाभन्दा ७ लाख बढी रकम राखेर सूचना प्रकाशन गरेको छ।
सूचना प्रकाशन गर्दा प्रथम पटक प्रकाशित भन्दा ३२ प्रतिशत बढी रकम राखेर ठेक्का आवह्नान गरेको देखिन्छ। तर, जनप्रतिनिधि र कर्मचारीले आर्थिक चलखेलमा प्रथम पटक प्रकाशित सूचनाकै मूल्यमा ठेक्का सम्झौताका लगी ठेकेदारलाई पत्र पठाएको छ। आम प्रचलनभन्दा ठेक्कामा बढी मूल्य देखाउनु तर ठेक्का प्रथम पटककै मूल्यअनुसार लगाउनुले आर्थिक चलखेल भएको वडाध्यक्षहरू नै बताउँछन्।
नगरपालिकाले प्रकाशित गरेको सूचनाको १७ नम्बर बुँदामा ‘दरभाउपत्र स्वीकृत भए पछि ठेक्काबापतको कबोल अंक बढीमा दुई किस्तामा बुझाउनु पर्ने उल्लेख छ। ‘यसरी दुई किस्तामा बुझाउने भएमा पहिलो किस्ताबापत ठेक्का कबोल अंकको ६० प्रतिशत बरावर हुन आउने रकम बुझाई दोस्रो किस्ताको बाँकी ४० प्रतिशत रकम बरावरको यस कार्यालयका नाममा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंकबाट जारी गरिएको कम्तीमा १३ महिनाको म्याद भएको जमानत पत्रको सक्कल प्रति चलन पुर्जी लिनु अगावै पेश गर्नु पर्ने छ’, भनिएको छ।
तर, प्रशासकीय प्रमुख राजकुमार दासले जानकी निर्माण सेवा गोलबजार नगरपालिका-८, को नाममा पठाएको ‘सम्झौता गर्न आउने बारे’को पत्रमा आफैले जारी गरेको सूचनाको उल्घङन गर्दै ठेकेदारलाई सजिलो पार्ने गरी प्रथम किस्तामा स्वीकृत भएको सम्झौता रकमको २५ प्रतिशत चार लाख ९५ हजार ६४ रुपैयाँ मात्र माग गरीको छ।
नगरपालिकाले आफैले जारी गरेको सूचनालाई लत्त्याउँदै ठेकेदारलाई पोस्ने काम भएको स्थानीयहरूको आरोप रहेको छ। यति मात्र हैन अहिलेसम्म ठेकेदारले पहिलो किस्ता बुझाएको छैन। नगरपालिकाबाट चलन पुर्जी लिएको छैन। तर, ठेकेदारले बजारबाट राजश्व असुली गरिरहेको छ। यी तमाम क्रियाकलापले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिको मिलेमतोको पुष्टि हुने गरेको स्थानीयको आरोप छ।
बजार ठेक्का सम्बन्धी विषयमा मेयर शिवशंकर महतोसंग जिज्ञासा राख्दा यो विषय आफुलाइ भन्दा कर्मचारीसंग बुझ्न आग्रह गरे। प्रमुख प्रशासकीय अधिकृत दाससंग प्रतिक्रिया माग्दा उनले आर्थिक परामर्श समितिसंग छलफल गरी संशोधन पश्चात् ठेक्का लगाएको बताए।
अधिकृत दासले एउटै ठेक्काको तिनतिन पटक सूचना निकालेर नगरपालिकामाथि व्ययभार थपेको स्थानीयहरूको आराेप छ। अवैध निर्णयले नगरपालिकाको पारदर्शिता र कानुनी पालना माथि गम्भीर प्रश्न उठाएको स्थानीयहरू बत्ताउँछन्।