काठमाडौं– नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान कांग्रेस-एमाले गठबन्धनको सरकार धेरै दिन नटिक्ने बताएका छन्।
पार्टी सम्वद्ध काठमाडौं-रोशी गाउँपालिका (काभ्रे) सम्पर्क समितिको पालिका भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै पुनले यो सरकार लामो समय नचल्ने बताएका हुन्।
सरकारमा भएर पनि कांग्रेस-एमाले पंक्तिको मनोबल खस्किएको भन्दै उनले दुवै दलका नेताले आफूहरूसँगको अनौपचारिक कुराकानीमा सरकार हनिमुन अवधि (एक सय दिन) कटाउन मुस्किल रहेको बताउन थालेको दाबी गरे। आफूहरूको प्राथमिकतामा सरकार नरहेको तर चाहेको अवस्थामा यो सरकार ढाल्न कुनै समस्या नभएको उनको भनाइ थियो।
पुनले भने, ‘संसद्को अंक गणितका कारण कुनै पनि बेला माओवादी हामीलाई चाहिन्छ भन्ने उनीहरूले बुझेका छन्। सरकारका लागि हामीलाई कुनै हतारो छैन। कुनै अप्ठेरो पनि छैन। चाह्यौं भने हामी छिट्टै सरकारमा जान सक्छौं। अहिलेको गणित कसैले बदल्न सक्दैन।’
नयाँ सरकार बनेपछि कांग्रेस-एमालेमा आन्तरिक किचलो बढेको समेत बताए। एमालेले लुम्बिनी प्रदेशमा दल नेताबाहेकका व्यक्तिलाई मुख्यमन्त्री बनाएपछि दल नेताले राजीनामा दिएको, नेकपा कालमा ओलीविरुद्धको संघर्षमा माधव नेपाललाई साथ दिएका नेताहरूलाई पाखा लगाइएको र कांग्रेस-एमाले दुवै दलले केही गरौं भन्ने भावना भएकालाई रोकेर विवादित पृष्ठभूमिका र राज्य दोहनमा संलग्नहरूलाई मन्त्री बनाएका कारण असन्तुष्टि चुलिएको उनको भनाइ थियो।
पुनले कांगेसका दुवै महामन्त्रीले एमालेसँग गठबन्धन गर्नुको अर्थ उसका कमजोरीको भारी बोक्ने होइन भन्दै गिरीबन्धु टी स्टेट प्रकरणको छानबिन हुनुपर्ने अडान लिनुले ओली सरकारको जग हल्लिन थालेको तर्क गरे। भ्रष्टाचार, तस्करी, अनियमितता, राज्य दोहनका विरुद्ध र सुशासनका पक्षमा उभिएका कारण आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालिएको पुनले बताए।
पुनले गिरिबन्धु टी स्टेट, बालुवाटार र बालमन्दिर जग्गा हिनामिना प्रकरण, विगतमा कांग्रेस-एमाले संलग्न भएका भ्रष्टाचार, तस्करी र राज्य दोहनबारे सरकारले छानबिन थालेपछि र बेचन झा पक्राउ परेपछि केही बिचौलिया र दलाल पुँजीपति समूहले आफ्नो स्वार्थमा कांग्रेस-एमालेलाई मिलाएको आरोप लगाए।
कांग्रेस-एमालेले सँगै सरकारमा राखेपछि माओवादीलाई आफूजस्तै भ्रष्टाचार, तस्करी, अनुचित लेनदेन र सरकारी सम्पत्ति हडप्ने काममा लाग्छ भन्ने ठानेको तर सरकार सहयात्री दल र आफ्नै पार्टी नेतालाई समेत आरोप लागेपछि छानबिनको दायरामा ल्याएपछि आत्तिएर रातारात सरकार ढालेको दाबी उनले गरे। प्रचण्डसहित माओवादी नेतृत्वले पटक-पटक आफ्नै पार्टीका नेता कार्यकर्ता भ्रष्टाचार, तस्करी र राज्य दोहनमा संलग्न भए माफी नहुने बताएको भन्दै उनले कांग्रेस-एमालेबाट त्यस्तो प्रतिबद्धता आउनुको साटो उल्टै संरक्षण गर्ने काम भएको टिप्पणी गरे।
‘भुटानी शरणार्थी प्रकरणमा सँगै सरकारमा भएका दलका नेता जेल जाने अवस्था बन्यो। सत्तारुढ पार्टीका समर्थकसम्मलाई पनि कानुनले छुँदैनथ्यो। तर वरिष्ठ नेताहरूसम्म पनि जेल जाने परिस्थिति बन्यो। आफूलाई कानुनभन्दा माथि ठान्नेहरू पनि प्रहरीमा बयान दिन जानुपर्ने अवस्था आयो। नेपालमा यो भन्दा पहिले यस्तो भएको थिएन,’ उनले भने।