काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ ।
यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ ।
काठमाडौंबाट पोखराका लागि उडेको जहाज आज बिहान विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
विमानमा चालक दलका सदस्यसहित १९ जना थिए । दुर्घटनास्थलबाट क्याप्टेनलाई उद्धार गरी अस्पताल लगिएको छ । उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य छन् ।
९ एन–एएमई सीआरजे २०० विमान भुईँमा खसेलगत्तै आगो लागेको थियो । आकाशमा धुवाँको मुस्लो उडेको थियो । नेपाल आर्मी र अग्नि नियन्त्रकको टोलीले आगो निभाएर उद्धारको काम जारी राखेका छन् ।
सौर्य एयरलाइन्सको बोम्बाडियर सीआरजे २०० जहाज ४१ हजार फिट उचाईसम्म उडान भर्न सक्छ। जहाजले करिब ६ हजार केजी बोक्न सक्छ। प्रतिघण्टा ८६० किलोमिटरसम्म उड्न सक्छ।
घटनाको थप विवरण आउन बाँकी छ।