रौतहट– नेपाल विद्यालय कर्मचारी तथा बाल विकास शिक्षक युनियन नगर कार्यसमितिले कटहरिया नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।
तलब भत्ताको माग गर्दै नगरभित्रका सामुदायिक विद्यालयहरूमा कार्यरत कर्मचारी, बाल विकास सहयोगीले तलब र भत्ताको माग गर्दै ज्ञापन पत्रमार्फत आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बाल विकास सहयोगीले आर्थिक वर्ष २०७९/०८० को वैशाख देखि असार मसान्तसम्मको न्यूनतम थप तलब, चालु आर्थिक वर्षको वैशाख देखि असारसम्मको तलब र प्रति महिना दुईहजारको दरले प्रोत्साहन भत्ता समेतको रकम निकासा नभएर आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
‘सम्पूर्ण विद्यालय कर्मचारी र सहयोगीले १५ दिन भित्र तलब निकासा नभएमा निम्न अनुसारको आन्दोलन गर्न बाध्य हुनेछौँ’, ज्ञापन पत्रमा भनिएको छ ।
आगामी भदौ २ गतेदेखि ३ गतेसम्म कटहरिया नगरपालिकामा धर्ना बस्ने, भदौ ४ गते हातमा कालो पट्टी बाँधेर आ-आफ्नो विद्यालयमा काम काज गर्ने र भदौ ५ गतेदेखि कटहरिया नगर क्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कटहरियास्थित सम्पूर्ण सामुदायिक विद्यालयहरूमा विद्यालय कर्मचारी र बाल शिक्षा सहयोगी गरी झन्डै ६० जना कार्यरत रहेका छन् ।
नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल, उपमेयर रितादेवी यादवसहित जनप्रतिनिधि कर्मचारी गरी ११ जना भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा दोषी ठहर भएर झण्डै १ महिना अघि निलम्बित भएपछि नगरको जबाफदेहिता अन्योल बनेको छ ।