काठमाडौं- माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले असार २८ गते लिने विश्वासको मतका लागि ह्वीप जारी गरेको छ।
बुधबार बसेको माओवादी केन्द्रको संसदीय दल बैठकले प्रधामन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको हो। त्यस्तै, बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन प्रतिनिधि सभामा रहेका अन्य राजनीतिक दलहरुलाई अपील गरेको छ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संविधानको रक्षा, संविधानको कार्यान्वयन र जनताको हित चाहने राजनीतिक दल तथा स्वतन्त्र सांसदहरुलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको जानकारी दिए।
उनले आगामी दिनमा वामपन्थी शक्तिहरुको बीचमा एकता र समाजवादी मोर्चालाई पनि अगाडि बढाउने विषयमा प्रधानमन्त्री दाहालले स्पष्ट पारेको बताए।
प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग सरकारलाई निरन्तरता दिने वचन दिएर कांग्रेससँग सरकार बनाउने सहमति गरेको भन्दै ओलीले ढाँटछल गरेको ब्रिफिङ गरेको प्रमुख सचेतक पाण्डेले जानकारी दिए।
पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा ७६(३) बमोजिमको सरकार बन्ने जिकिर गरे।