काठमाडाैं- गौतम गम्भीर भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षक बनेका छन्। राहुल द्रबिडको कार्यकालपछि गम्भीरलाई बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इण्डिया (बीसीसीआई) ले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।
गम्भीरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको बीसीसीआईका सचिव जय साहले सामाजिक सञ्जाल एक्स (पहिलाको ट्वीटर) मा पोस्ट गर्दै जानकारी दिएका हुन्।
साहले गम्भीरलाई मुख्य प्रशिक्षकमा स्वागत गर्दै उनको भिजन र अनुभवले भारतीय क्रिकेट टोलीलाई अघि लैजाने विश्वास लिएको जनाएका छन्। गम्भीरले पनि ट्वीट गर्दै १.४ बिलियन भारतीयलाई गौरवान्वित बनाउने आफूले आफ्नो क्षमताले भ्याएसम्म गर्ने बताएका छन्।
‘भारत मेरो पहिचान हो र मेरो देशको सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सौभाग्य हो। फरक ‘ह्याट’ लगाए पनि फर्केर आउन पाउँदा म गौरवान्वित छु,’ गम्भीरले लेखेका छन्, ‘मेरो लक्ष्य सधैं जस्तै छ: हरेक भारतीयलाई गर्ववान्वित बनाउने।’
भर्खरै टी-२० विश्वकपमा च्याम्पियन बनेको भारत गम्भीरको प्रशिक्षणमा सबैभन्दा पहिला श्रीलंकासँग खेल्नेछ। गम्भीरको आमगनसँगै यसअघिका प्रशिक्षक राहुल द्रविडको कार्यकालमा सहायक प्रशिक्षकको भूमिकामा रहेका तीन प्रशिक्षकले भने निरन्तरता दिने या नदिने भन्ने बीसीसीआईले स्पस्ट पारेको छैन।
बीसीसीआईको सर्टलिस्टमा गम्भीर र डब्लुभी रमन थिए। पछिल्ला दिनमा गम्भीर मुख्य प्रशिक्षक बन्ने पक्कापक्की भइसक्दा ‘सेलरी नेगोसिएसन’ ले गर्दा घोषणामा ढिलाइ भएको श्रोतलाई उदृत गर्दै इण्डियन एक्सप्रेसले लेखेको छ।
इण्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्समा गम्भीर मेन्टर छँदैदेखि बीसीसीआईसँग उनको छलफल सुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उनकै नेतृत्वमा कोलकाता आईपीएल च्याम्पियनसमेत बनेको थियो। गम्भीर भारतीय टोलीले सन् २००७ मा टी-२० र २०११ मा एकदिवसीय विश्वकप च्याम्पियन बन्दा महत्वपूर्ण खेलाडीका रुपमा टोलीमा थिए।