काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले सांसदबाट विश्वास मत लिएर मात्रै छाड्ने बताएका छन्।
आइतबार सांसदबाहिर प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले एमाले-कांग्रेस सत्ता समीकरण संविधान संशोधन गरी प्रश्चगमनतिर लैजाने गरी भएको दाबी पनि गरे।
अग्रमनतिर गए माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको उनको प्रस्टोक्ति थियो। कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचनमा जाँदा माओवादीले समर्थन गर्ने जानकारी पनि उनले दिए।
उनले एमाले कांग्रेस गणतन्त्र, संघीयता, समानुपातिक र समावेशिताबाट पछाडि हट्न खोजेको भन्दै माओवादीलाई त्यो स्वीकार्य नहुने जिकिर पनि गरे।
संसद् फेस गरेर प्रधानमन्त्रीले एमाले र कांग्रेससँग दुई दल किन मिलेको भनेर प्रश्न गर्न खोजेको पुनले बताए।
उनले भने,‘ एमाले-कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्नु स्वाभाविक हो। उपधारा २ बमोजिमको सरकारले कुनै दलले समर्थन फिर्ता लियो भने ३० दिनभित्र बहुमत जुटाउन पाउँछ। दुई पार्टी मिल्दा दबाब छ। तर माओवादीले दुई दल किन मिल्नुभयो भनेर संसद्मा प्रश्न गर्न खोजेका हो।’
सरकारले सुशासनको पक्षमा काम गरेको र ठुला फाइलहरू खोल्न सुरु गर्दा एमाले-कांग्रेस आत्तिएर गठबन्धन गरेको आरोप लगाए।