काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले देश अप्ठ्यारो अवस्थामा पुगेको बेला कांग्रेस-एमाले एक ठाउँमा आउने गरेको बताएका छन् ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै भट्टराईले विगतमा देश अप्ठ्यारोमा परेको बेलामा कांग्रेस-एमाले एक ठाउँमा आउने गरेको स्मरण गर्दै अहिले पनि देश कठिन अवस्थामा भएकोले कांग्रेस-एमाले एक ठाउँमा आएको बताए ।
देश आर्थिक रूपमा संकटमा रहेको, संविधानका केही विषयलाई सुधार गरेर अगाडी जानुपर्ने परिस्थिति बनेकोले कांग्रेस-एमालेबीच सहकार्य भएको स्पष्ट गरेका छन् ।
कांग्रेससंग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गर्दा प्रचण्डले एमालेलाई सरकारबाट बाहिर राख्न खोजेको थाहा पाएपछि अध्यक्ष ओलीले कांग्रेससंग सहमति गरेको उनले बताए । एमाले सरकार बाहिर बस्न तयार भए पनि प्रचण्डको रोटेपिङ शैलीले मुलुकको समस्या समाधान नहुने उनले बताए ।
‘हामीले विचार गर्यौं कि फेरि एमाले बाहिर बस्ने, कांग्रेस उहाँसंग साथमा जाने, कांग्रेस बाहिर जाने, फेरि एमाले भित्र जाने, यो रोटेपिङले देशलाई कहीँ पनि पुर्याउँदैन, घुमिफिरी रुम्जाटार भनेजस्तै पुष्पकमल दाहालको कुुर्सी केही समय लम्बिन्छ तर मुलुकको समस्या जहाँको त्यहीँ हुन्छ भन्ने कुरा हामीले बुझ्यौं’, उनलेले भने ।
उनले प्रचण्डलाई अवसर दिन आफूहरू सरकारमा लो-प्रोफाइलमा बसेर सहयोग गरेको बताउँदै प्रधानमन्त्रीले त्यस सहयोगलाई दुरुपयोग गर्दै राष्ट्रिय सरकार बनाउन पहल शुरु गरेको आरोप लगाए ।
उनले देशभित्र आत्मविश्वास बढाउन, संकटग्रस्त अर्थतन्त्रलाई लयमा ल्याउनका लागि, बिदेसिने युवालाई स्वदेशमै अवसर सिर्जना गर्न र अन्तर्राष्ट्रिय स्तरमा नेपालको बारेमा विश्वास बढाउन कांग्रेस- एमाले मिलेर काम गर्ने बताए ।
उनले प्रधानमन्त्री प्रचण्ड घोर अल्पमतमा रहेको बताउँदै संवैधानिक सर्वोच्चता स्वीकार गरेर राजीनामा गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले विश्वास गुमाइसकेको अवस्थामा यसै सांसदबाट राजीनामा गर्नु नै सही निर्णय हुने बताउँदै असार २८ गते विश्वासको मत लिनुको कारण के हो ? भन्दै प्रश्न गरेका थिए ।
उनले रास्वपालाई प्रधानमन्त्रीको ढुंगामा किन बसेको भन्दै एक पटक सोच्न आग्रह गरे ।