नेपाल एकीकरणको सुरुवात द्रव्य शाहको लिगलिग आगमनबाट सुरु भई केही साना राज्यहरूको विजय गरी गोरखा राज्यको स्थापना पश्चात् बिधिबत सुरु भएको इतिहास रहेको छ । नेपाल एकीकरण जे जसरी भए पनि जो जो पात्रहरू जोडिए पनि मूल श्रेय तत्कालीन राजा पृथ्वीनारायण शाहलाई नै जान्छ।
गोरखा राज्यको स्थापना र बिस्तारसंगै गोरखा दरबार, पोखरा थोक (बिसेनगर्चि वासस्थान) विकास हुन नसके पनि पोखरीथोक बजार व्यापारिक हिसाबले केही विकास भएको पाइन्छ। तत्कालीन राजदरबारसँग जोडिएको शहरको रूपमा पिपल थोकलाई लिएको पाइन्छ । त्यही पिपल थोकका व्यापारीहरू पहल र पृथ्वी नारायण शाहले पहिलो र दोस्रो पटकको हमलामा हार बेहोरेपछि काठमाडौंको रानीपोखरी र वसन्तपुर झल्किने केही संरचनाका मूर्ति मठ मन्दिर र रानीपोखरी निर्माण भएको कथन रहेको छ।
गोरखा बजार पहाडको ढाल परि दक्षिण पश्चिम दिसामा फर्किएर रहेको सानो ग्रामीण सहर हो। प्राचिनकाल देखिका साना साना संरचना र विभिन्न जातजातिको सामूहिक बसोबासको थलो हो। विगतमा उत्तरी गोरखा जाने मुख्य केन्द्रको रूपमा रहेको ‘ठुलो आँगन’ समय परिस्थितिसंगैं सानो भएको छ। दरबार सङ्ग्रहालय प्रवेशद्वार समेत त्यही अवस्थित छ।
विभिन्न कारणहरूले गोरखाको पुरानो बजार आज कोल्टो र छाया परेको छ। जिल्लाको व्यापारिक केन्द्रको रूपमा रहेको गोरखा जिल्लाकै सदरमुकाम अहिले प्राय सुनसान अवस्थामा छ। आर्थिक गतिविधि ज्यादै नै न्यून रहेको व्यापार व्यवसायबाट मानिसहरूको जीविकोपार्जन समेत धान्न कठिन भएको छ। होटल, रेस्टुराँ, खाद्य व्यवसाय लगायत सबै व्यवसाय धिपिर धिपिर अवस्थामा छन् ।
गोरखालाई गोरखाको एक व्यापारिक केन्द्रको रूपमा झल्काउन अब सबै गोरखालीले सोच्ने बेला आएन र ? यदि गोरखा बजारलाई पुन उदीयमान बनाउने हो भने यी केही महत्त्वपूर्ण काम गर्न जरुरी छ।
१) ऐतिहासिक पोखरीथोक बजारलाई सांस्कृतिक नगरिको रूपमा विकास गर्ने,
२) नयाँबजार, छिपिटोल, धारापानी, ठुलो आँगन, अर्याल गाउँ, पाटेचौरलगायत जे जस्तो संरचना बनेका छन् तिनीलाई आधुनिकतामा रूपान्तरण गरी बन्दिपुर शैलीमा विकास गर्ने,
३) पृथ्वीनारायण शाहको शलिकको पुन:स्थापना सहित धार्मिक सांस्कृतिक संरचनाको पुन निर्माण गर्ने,
४) ऐतिहासिक रानीपोखरीलाई व्यवस्थित गरी डुङ्गा शयर सहित ती क्षेत्र बिस्तार गरी वनभोज स्थल वा पार्क निर्माण गर्ने,
५) उपयुक्त स्थान हेरि खुल्ला व्यायाम स्थल निर्माण गर्ने,
६) ऐतिहासिक कथन बमोजिम मनकामनाका ५ दिदी बहिनी मध्ये जेठी कालिका, माहिली नाम्रुङ, साइँली मनकामना, काइँली अन्नपूर्ण र कान्छी अकलादेखि हुन यी सबैको दर्शन गरे पछि मात्र मनोकाङ्क्षा सफल र पुरा हुन्छ भनी प्रचार प्रसार गर्ने र मनकामना आएको २०/३० प्रतिशत धार्मिक पर्यटक पोखर थोक भित्र्याउने,
७) गोरखनाथ बाबाको महिमा र पृथ्वीनारायण शाहसंग जोडिएको किंवदन्ती, सिता गुफा, उपल्लो कोट, पश्चिमकालि र भीमसेन पार्कको व्यापक प्रचार गर्ने,
८) मनकामना र पोखरा आउने धार्मिक पर्यटकहरूलाई कम्तीमा एक रात पोखरीथोक बजार राख्न र बारपाक मनासलु पदमार्ग, दुधपोखरी, अजिरकोट, मण्डली, लिगलिगकाेट, श्रीनाथकोटलगायत धार्मिक पर्यटकीय क्षेत्र जानको लागि उपयुक्त सुलभ यातायातको व्यवस्था मिलाउने,
९) प्रारम्भिक चरणमा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनको लागि ‘ठुलो आँगन’ रानीपोखरी क्षेत्र हुँदै पाटेचौर र अर्याल गाउँसम्म निश्चित समय निर्धारण गरी ‘अर्ग्यानिक स्ट्रिट फुड जोन’ सञ्चालन गरी गोरखामा भएका सबै राम्रा होटेल व्यवसायीसंग समन्वय गर्ने,
१०) ऐतिहासिक सङ्ग्रहालयको मूल भवनको नजिक टिकट काउन्टर राखी त्यहाँको खुल्ला जग्गा र बगैचालाइ सर्वसाधारणको पहिच पुर्याउने र अधिकतम प्रयोग गर्ने,
११) गोरखनाथ बाबाको मूर्ति सहित सब लाख रोट चढाउने परम्परालाई देशव्यापी गराउन प्रचार गर्ने,
१२) अष्टमी, चैते दसैँ, गाई जात्रा, हिले जात्रा र विभिन्न गुठी जात्राहरूलाई व्यवस्थित र व्यापक गराउने,
१२) जिल्लाको महत्त्वपूर्ण मनकामना केबलकारसंग समन्वय गरी वा अन्य निजी क्षेत्रलाई लगानीको वातावरण बनाइ स्थानीय उद्योगी व्यापारी बुद्धिजीवी पेशाकर्मी सहितको सहकार्य र लगानीमा गोरखाबजार देखि गोरखकालि मन्दिर वा नजिकै चुस्त क्षमताको केबलकार सञ्चालन गर्ने,
गोरखालाई कसरी समृद्ध र विकसित अनि ऐतिहासिक सांस्कृतिक सहर बनाइ संसारका मानिसलाई गोरखा चिनाउने यी र यस्ता यावत कामहरू हुन सक्छन् । राजनीति भन्दा माथि उठेर गोरखाका हरेक नागरिकले सोच्ने बेला आएको छ । कम्तीमा पनि ५० बर्साइ खुल्ला र सुन्दर गोरखा बनाउने गरी बहस छलफल बिचार विमर्श गरौँ । यसै त साँघुरो पोखरीथोक बजारलाई थप संरचनागत भार बोकाएर साँघुरो बनाउने होइन समग्र गोरखाली र दुनियाँका मानिसले एक पटक गोरखा आउने अवस्था सिर्जना गरौँ ।
आम साना ठुला व्यवसायी, उद्योगी व्यापारी, सम्भ्रान्त व्यक्तित्व, बुद्धिजीवी, रैथाने, पेशागत शिक्षक, युवा विद्यार्थी र आम गोर्खाली दाजुभाइ दिदी बहिनीहरूलाई एक गोर्खाली हुनुको नाताले यी थोरै विषय उद्घाटन मात्र गरेको हु । अबको लक्ष्य ‘समृद्ध गोरखा सुखी गोर्खाली जनता’ यही प्रण गरौँ कामको सुरुवात गरौँ।