गोरखा– उत्तरी गोरखाको मनासलु पदमार्गमा पर्ने लार्केपास क्षेत्रमा ‘मार्किङ पोल’ थप गरिएको छ । मनासलु पदमार्गमा क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकलाई बाटो पहिल्याउन सहज होस भन्ने उद्देश्यका साथ पोल थप गरिएको मनासलु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत एवं सूचना अधिकारी भुवनराज ओझाले बताए ।
‘विगतमा पनि उक्त क्षेत्रमा मार्किङ पोलहरू थिए । त्यस मध्ये केही हिउँका कारण केही हावाहुरीले हराए । पोल हराउँदा पर्यटकलाई पदमार्ग पहिचानमा समस्या हुने गरेको थियो’ उनले भने ‘ पर्यटकलाई पदमार्गमा समस्या नहोस् भनेर गोरखाको लार्के बजारदेखि मनाङको भिमथाङसम्म पोल राखिएको हो ।’
यस अघि संरक्षण क्षेत्रले उक्त पदमार्गमा १०० वटा पोल राखेकोमा १३ वटा पोल हराएको थियो । बाँकी रहेको ८७ पोल मध्ये पनि अधिकांश पोल ढलेको, पहिरोले बगाएको अवस्थामा फेला पारी मर्मत पछि पुनः सोही स्थानमा राखिएको सूचना अधिकारी ओझाले जानकारी दिए ।
उनका अनुसार पछिल्लो पटक पुनः नयाँ २१ पोल थप गरिएको छ । थपिएको पोलले अहिले मनाङको भिमथाङसम्म पुगेको छ । ‘थप गरिएको र मर्मत गरेर राखिएका पोलमा उचाइ मापन प्लेट पनि राखिएको छ’ सूचना अधिकारी ओझाले भने ‘अहिले प्रत्येक १०० मिटरको उचाइको फरकमा त्यस्ता प्लेट राखिएकोले पर्यटकलाई सहजता भएको छ ।’
विगतमा भने उचाइ मापन प्लेट नहुँदा कति उचाइमा पुगियो भनेर जिपिएस हेर्नुपर्ने वा जानकारी नहुने अवस्था थियो । तर अब त्यो अवस्था रहेन । पर्यटकले आफू कुन उचाइमा छु भनेर पोलबाटै जानकारी पाउने उनले जानकारी दिए ।
संरक्षण क्षेत्रले ४ हजार मिटरबाट मार्किङ पोल राखेको छ । लार्केपास यसको उच्च बिन्दु हो । यहाँ पुग्दा पर्यटकले ५ हजार १०६ मिटर उचाइ पार गर्दछन् । पासबाट मनाङको भिमथाङ भने ३ हजार ७०० मा रहेको छ । भिमथाङ एक्यापको क्षेत्र हो ।
सूचना अधिकारी ओझाका अनुसार लार्के बजारदेखि लार्केपाससम्म ६५ वटा र पासदेखी भिमथाङ बजारसम्म ४३ वटा पोल राखिएको छ ।