काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले शुक्रवार विशेष अदालतमा गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै अभियोग पत्र दायर गरेको हो ।
आयोगले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव, लेखापाल सुभाष कुमार झा, जिन्सी शाखाका प्रमुख खरिदार उपेन्द्र यादव र मजदूर होजियारी उद्योग, जनकपुरधाम २ का प्रोप्राइटर राम सुन्दर शाह तेली विरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरूले विद्यालय पोसाक खरिद गर्दा छुट दरभाउ पत्र तयार गरी खरिद मूल्यांकन समितिको बैठकबाट मूल्यांकन नै नगरी टिप्पणी आदेश मार्फत खरिद गरेको आयोगले जनाएको छ ।
आयोगका अनुसार उनीहरूले सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावली बमोजिम लागत अनुमान तयार गरी कम्तीमा ३ वटा आपूर्तिकर्तासँग लिखित रूपमा दरभाउ पत्र माग गरी खरिद मूल्यांकन समितिबाट निर्णय गराउनुपर्नेमा सो नगरी भुट्टा विवरण बुझाएका थिए ।
उनीहरू विरुद्ध आयोगले ५ लाख ३४ हजार ७१० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ ।