काठमाडौं– कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्ड राजनीतिक परामर्शमा जुटेका छन् ।
उनले अहिले केहीबेरमा आफ्नै दल माओवादी केन्द्रका पदाधिकारीहरुको बैठक बोलाएका छन् । त्यसपछि सत्ता गठबन्धनमा रहेका दलहरुसँग पनि परामर्श गर्ने तयारी छ ।
स्रोतका अनुसार प्रधानमन्त्री राजीनामा दिने कि संसदमा विश्वासको मत लिने भन्ने छलफलमै छन् । ‘राजीनामा दिने नदिने निर्णय भइसकेको छैन’ स्रोत भन्छ, ‘तर प्रधानमन्त्रीको मुड तत्काल राजीनामा नदिने जस्तो देखिएको छ ।’
त्यसो भएमा एमालेले समर्थन फिर्ता लिनसक्छ । तर प्रधानमन्त्री प्रचण्डसँग विश्वासको मत लिन ३० दिन रहन्छ । उनले विश्वासको मत नपाए नयाँ सरकार गठनको बाटो खुल्छ ।
एमालेबाट सरकारमा सहभागी रहेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । मन्त्रीहरुले राजीनामा दिनुअघि एमाले अध्यक्ष ओली अहिले प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
उनले प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त्र गर्न आग्रह गर्ने र प्रधानमन्त्रीले राजीनामा नदिएमा एमालेका मन्त्रीहरुले राजीनामा दिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइएको छ ।
एमालेबाट सरकारमा रघुवीर महासेठ, पदम गिरी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, दामोदर भण्डारी, ज्वालाकुमारी साह र बलराम अधिकारी रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीले पदबाट राजीनामा नदिने भएका छन् ।