काठमाडौं- प्रभु बैंकले बिजनेस डेबिट कार्ड सेवा संचालनमा ल्याएको छ। भिजा ईन्टरनेसनलसँगको सहकार्यमा बैंकले पूर्ण नविनतम् सुविधासहितको प्रभु डेबिट कार्ड सेवा संचालनमा ल्याएको जनाएको छ।
आजदेखि संचालनमा ल्याएको यो कार्ड सेवा अन्तर्राष्ट्रिय रुपमै व्यावसायिक कारोबारको सरल र सुरक्षित विद्युतीय भुक्तानीको माध्यम मानिएको बैंकको दाबी छ।
यो बिजनेस डेबिट कार्ड प्रभु बैंकमा चल्ती (करेन्ट) खाता खोली कारोबार गर्ने र गरिरहेका खाताधनी (कर्पोरेट)हरूलाई लक्षित गरी डेबिट कार्डसम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले ल्याइएको बैंकले बताएको छ। यो कार्ड विशेष गरी व्यापारिक प्रयोजनका लागि मात्र लक्षित रहेको बैंकले स्पष्ट पारेको छ।
बैंकका अनुसार यसको प्रयोग व्यापारी, विक्रेता, आपूर्तिकर्ता र सेवा प्रदायक लगायतलाई नियमित रूपमा साना र ठूला भुक्तानीहरू गर्ने व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, कर्पोरेट, स्कूल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू लगायतमा सीमित रहने छ। यो एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार भएको भन्दै बैंकले यो कार्ड मार्फत गरिएको भुक्तानी सुरक्षित रहने दाबी गरेको छ।
बिजनेस डेबिट कार्डको मद्दतले, बिजनेस हाउसहरूले यात्रा र मनोरञ्जन हेडसँग सम्बन्धित आफ्नो खर्चलाई डिजिटलाइज गर्न सक्ने छन्।
‘यस सम्बन्धमा, बिजनेस डेबिट कार्डको मद्दतले, टिकटहरू (हवाई र बस) तुरुन्तै अनलाइन वा पीओएस टर्मिनलहरू मार्फत ट्राभल एजेन्टहरूसँग खरिद गर्न सकिन्छ। यसरी व्यावसायिक प्रयोजनमा आफ्ना कर्मचारीहरूलाई कुनै पनि अग्रिम सुविधा प्रदान गर्नु पर्दैन र पछि हिसाब मिलान गर्न र अपरेसन झंझट कम गर्दै अग्रिम भुक्तानहरू व्यवस्थित गर्न साथै होटल खर्च पनि छुट्याउन सकिन्छ,’ बैंकले उल्लेख गरेको छ।
बिजनेस डेबिट कार्डको मद्दतले, व्यापारिक घरानाहरूले आफ्नो कार्डमार्फत सिधै आपूर्ति र खरिदका लागि भुक्तानी गर्न सक्ने बताइएको छ।
यो बिजनेस डेबिट कार्डको मद्दतले व्यावसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रबर्धनमा सहजता तथा पारदर्शीता समेत कायम रहने बैंकले विश्वास लिएको छ।