काठमाडौं– गण्डकी प्रदेश सभाका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाईएको छ । बिहीबार प्रदेश सभा बैठकमा सहभागी हुन पुगेका उनलाई मर्यादापालकहरुले प्रदेश सभाभित्र प्रवेश गर्न नदिएका हुन् ।
सांसद देवकोटाले भने, ‘म बैठकमा सहभागी हुन आएको छु, मर्यादापालकले भित्र प्रवेश गर्न दिनुभएन। अहिले बाहिर बसिरहेको छु।’
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि उनलाई माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादीले सांसदबाट हटाएपछि सर्वोच्च अदालतमा फणीन्द्रले रिट हालेका थिए ।
उनको रिट उपर सर्वोच्चले सोमबार गण्डकी प्रदेश सभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिँदै सांसद पद खारेज नहुने आदेश दिएको थियो ।
माओवादी चुनाव चिह्नबाट विजयी देवकोटाले आफू नेपाल समाजवादी पार्टीको सांसद भएको र आफूलाई ह्विप नलाग्ने भन्दै मुख्यमन्त्री पाण्डेको पक्षमा उभिएर बहुमत दिलाएका थिए । त्यसको भोलिपल्ट जेठ २९ गते देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका थिए ।
देवकोटालाई माओवादी संसदीय दलका नेताले २०८१ जेठ २९ गते स्पष्टीकरण सोधेको र ३१ गतेको पत्रबाट कारबाही गरेको थियो। गएको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनबाट देवकोटा गाेरखा २ (१) बाट निर्वाचित सांसद् हुन् ।