रौतहट– फतुवा विजयपुर नगरपालिकालाई आर्थिक कारोबार नगर्न उच्च अदालत वीरगंजले अल्पकालीन आदेश जारी गरेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को आर्थिक कारोबारमा कुनै पनि चेक नकाट्न भन्दै उच्च अदालत, जनकपुर अस्थायी इजलास वीरगंजले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
फतुवा विजयपुर-१ का विजयकुमार यादव समेतले दिएको निवेदन पछि उच्च अदालतका न्यायाधीश भरत प्रसाद लम्सालको इजलासले अल्पकालीन आदेश जारी गरेको छ। न्यायाधीश लम्सालको ३ नम्बर इजलासमा वरिष्ठ अधिवक्ता इन्द्रदेव प्रसाद चौधरी र अधिवक्ता विशाल चौधरिले बहस गरेका थिए ।
नगरपालिकाका कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानकाे मिलेमतो गरी कार्यालयको सट्टा चन्द्रनिगापुरमा बसेर जथाभाबी चेक काटी रहेको वडाध्यक्षहरूले आरोप लगाएका थिए ।
उपसचिव प्रधान तेस्रो पटक फतुवा विजयपुरको प्रशासकीय अधिकृतको रूपमा आएका हुन्। फतुवा विजयपुरमा नेपाली कांग्रेसबाट निर्वाचित मेयर गोपाल राय यादव अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे अनुसन्धानमा दोषी ठहर भई विशेष अदालतबाट दण्ड जरिवाना तोकिएपछि गत वर्ष नै उनकाे पद गएपछि कांग्रेसकै उपमेयर खातुनले कार्यवाहकको जिम्मेवारी पाएकी थिइन्।
खातुन कार्यवाहक भएदेखिन् विभिन्न कारणले सिङ्गो नगरपालिका अस्तव्यस्त बनेको छ। कार्यवाहक मेयर खातुनले कांग्रेसकै नेताको इसारामा कांग्रेस कै वडाध्यक्षहरू षडयन्त्र गरेर आफूलाई असफल बनाउन खोजेको बताउँदै आएकी छिन् ।
उता वडाध्यक्षहरूले कार्यवाहक मेयर खातुन प्रमुख प्रशासकीय अधिकृतसंगकाे मिलेमतो गरी आर्थिक अनियमितता गर्न खोजेको आरोप लगाउँदै आएका छन् ।
२०७९ को स्थानीय निर्वाचन पछि नगरपालिकाले समयमा बजेट ल्याउन नसक्दा समयमा शिक्षक कर्मचारीले तलब पाउने गरेका छैनन्। जनप्रतिनिधिबीच बजेटकै भागबन्डा नमिलेर आर्थिक वर्षको असार १० भित्र फतुवा विजयपुर बजेट ल्याउन सकिरहेकाे छैन ।