काठमाडौं– एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले विहिबार एसइईको नतिजा सार्बजनिक गरेको हो ।
परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएको बोर्डले जानकारी दिएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।
कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताएका छन् । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने भएको छ ।
गत चैत १५ गतेदेखि २७ गतेसम्म भएको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।
बोर्डले सार्वजनिक गरेको एसईईको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने जनाएको छ ।
कार्यालयले जारी गरेको सूचना अनुसार नेपाल टेलिकममार्फत् १६०० कोड प्रयोग गरेर एसएमएस तथा आईभीआर गरेर हेर्न सकिने, स्विफ्ट टेक्नोलोजी प्रा.लि.मा ३४४५५ कोडमा, जानकी टेक्नोलोजी प्रालि ३५००१ मा कोडमा, इजी सर्भिस प्रालिमा ३४९४९ कोडमा र आकाश टेक प्रालिमा ३१००३ कोड राखेर एसएमएस गरेर नतिजासम्बन्धी विवरण हेर्न सक्नेछन् ।
त्यस्तैगरी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, नेपाल टेलिकम, खल्ती, इसेवा, एनसेललगायतका वेबसाइटमार्फत् पनि नतिजा विवरण हेर्न सक्नेछन् ।