काठमाडौं– प्राइम कमर्सियल बैंकका सञ्चालक नरेन्द्र बज्राचार्य पक्राउ परेका छन् । काठमाडौँ जिल्ला प्रहरी परिसरले ठगी आरोपमा बज्राचार्यसहित पाँच जनालाई पक्राउ गरेको हो ।
काठमाडौँस्थित लाजिम्पाटका ६८ वर्षीय बज्राचार्यसँगै राजु महर्जन, ललितपुर महानगरपालिका ६२ वर्षीय राजेश कृष्ण श्रेष्ठ, पाल्पा तानसेनका निरञ्जन कुमार श्रेष्ठ, कास्कीका घर भएका चिरञ्जीवी पौडेल र स्याङ्जाका शान्ति रमण पंगेनीलाई प्रहरीले पक्राउ गरेको छ । कलंकी ट्रेड सेन्टरका व्यापारिक ईकाई (सटर) हरुको स्वामित्व हस्तान्तरण गर्ने भन्दै ठगी गरेको आरोप उनीहरू माथि लागेको छ ।
उनीहरूले १३ करोड ७३ लाख ५२ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।
न्युरोड कम्प्लेक्समा रहेको कलंकी डेभलपर्स र मिला ल्याड डेभलपमेट प्रालिका संचालक समितिका अध्यक्ष समेत रहेका बज्राचार्य समेतले न्यूरोड क्षेत्रका व्यापारीलाई कलंकी ट्रेड सेन्टरका व्यापारिक ईकाई (सटर) हरुको स्वामित्व हस्तान्तरण गर्ने विश्वासमा १३ करोड ७३ लाख ५२ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका व्यक्तिले न्युरोडका व्यापारीलाई कलंकीमा सटर दिने भन्दै रकम उठाएका थिए। ४० लाखमा सटर दिने भन्दै ५ सय जना भन्दाबढीसँग रकम उठाएको देखिएको छ। यो समूहले ५ सय भन्दाबढी व्यापारीसँग ५ अर्ब भन्दाबढी रकम उठाएको देखिएको छ।
जिल्ला अदालतबाट ठगी मुद्दामा उनीहरुविरुद्ध तीन दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।