काठमाडाैं- कप्तान जोस बट्लरले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गरेपछि इंग्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गरेको छ । १ सय १६ रनको लक्ष्य इंग्ल्यान्डले कुनै पनि विकेट नगुमाई मात्र ९.४ ओभरमा पछ्याएको हो ।
बट्लरले मात्र ३८ बलमा ८३ रन जोडे । उनले यस क्रममा ६ चौका र ७ छक्का प्रहार गरे । उनलाई फिल साल्टले २१ बलमा २५ रन जोड्दै राम्रो साथ दिए । जितसँगै सुपर ८ को समूह २ बाट इंग्ल्यान्डले टी–२० विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।
यसअघि क्रिस जोर्डनको घातक बलिङ गर्दै ह्याट्रिक लिएपछि अमेरिका मात्र १ सय १५ रनमा सीमित बनेको थियो । अमेरिका १८.५ ओभरमा अलआउट हुन पुग्यो ।
५ विकेटको क्षतिमा ११५ रन बनाएको अमेरिकाले बाँकी सबै विकेट कुनै पनि रन नजोडी गुमायो । टोलीले ६ बलको अन्तरमा ५ विकेट गुमाएको थियो ।
टोलीका लागि नितिश कुमारले सर्वाधिक ३० रन जोडे । उनले २४ बलमा १ चौका र २ छक्का प्रहार गरे । कोरी एन्डरसनले २८ बलमा २९ रनको योगदान दिए ।
त्यस्तै, हरमित सिंहले १७ बलमा २१ रन जोडे भने स्टिभन टेलरले १२ तथा कप्तान एरोन जोन्सले १० रन बनाए । यता, जोर्डनले घातक बलिङ गर्दै ४ विकेट लिए । उनले २.५ ओभरमा १० रन मात्र खर्चिए ।
साम करन र आदिल रसिदले पनि २–२ विकेट हात पारे भने रिस टोप्ले र लियाम लिभिङ स्टोनले १–१ विकेट लिए ।