पोखरा– गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१/०८२ काे लागि ३२ अर्ब ९६ कराेड ८५ लाख बजेट ल्याएकाे छ ।
आर्थिक मामिला मन्त्री टकराज गुरूङले चालुतर्फ १३ अर्ब १६ कराेड अर्थात ३९ प्रतिशत र पुँजीगततर्फ ६१ प्रतिशत अर्थात १९ अर्ब ५१ कराेड कराेड बजेट विनियोजन गरेको शनिबार प्रदेशसभामा जानकारी गराए ।
बजेटको यो आकार चालु आर्थिक वर्षकाे भन्दा ८५ कराेडले कम हाे । आर्थिक वर्ष २०८०/०८१ को बजेट ३३ अर्ब ८२ कराेड थियाे । तत्कालिन अर्थमन्त्री जीतप्रकाश आले मगरबाट प्रस्तुत बजेटमा चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात् कुल बजेटको ३८.१ प्रतिशत र पूँजीगततर्फ कुल बजेटको ६०.४ प्रतिशत अर्थात् २० अर्ब १९ करोड ४ लाख ६२ हजार तथा वित्तीय व्यवस्थातर्फ १.५ प्रतिशत अर्थात् ५० करोड विनियोजित थियो।
चालूतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार र पूँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री गुरुङले बताए। १२ अर्ब ७० कराेड रूपैयाँ भाैतिक पूर्वाधार क्षेत्रमा बिनियाेजन भएकाे छ । यस्तै वित्तीय व्यवस्थापनतर्फ सरकारले ३ करोड रुपैयाँ विनियोजन गरेको छ।
पाेखरालाई पर्यटकीय राजधानीकाे रूपमा केन्द्रमा राखेर ग्रामीण पर्यटन, हाेमस्टेकाे विकास र ११ वटै जिल्लामा विशेष कार्यक्रम गर्ने उनले बताए । सामाजिक क्षेत्रका लागि २ अर्ब ९ कराेड रूपैयाँ विनियाेजन भएकाे छ ।
आगामी वर्ष गण्डकी प्रदेश सभाकाे भवन पनि निर्माण सुरु हुने भएको छ । त्यसका लागि ९ कराेड रूपैयाँ विनियाेजन भएकाे छ ।
आगामी वर्ष उज्यालाे प्रदेश घाेषणा गर्ने अर्थमन्त्री गुरूङले बताए । कम्तीमा ७० प्रतिशत घरमा खानपानी धारा जडान गर्न ८ कराेड रूपैयाँ छुट्याइएकाे छ । ४ अर्ब रूपैयाँ ऊर्जाकाे क्षेत्रमा छुट्याएकाे अर्थमन्त्री गुरूङले सुनाए ।
गुणस्तरीय पूर्वधार तथा उत्पादनमा अभिवृद्धि, रोजगारी तथा आयमा वृद्धि र गुणस्तरीय सार्वजनिक सेवा प्रवाहमार्फत सुशासन अभिवृद्धि गर्नेलगायतका उद्देश्यका साथ बजेट प्रस्तुत गरिएको मन्त्री गुरुङले बताए।
पूर्णपाठ