तनहुँ– भिमाद नगरपालिकालाई पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ । पुर्णखोप सुनिश्चित गर्ने राष्ट्रिय पुर्णखोप निर्देशिका अनुरूप सम्पूर्ण तयारीहरू पूरा गरेपछि भिमाद नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतका स्वयंसेविकाहरूको उपस्थितिमा पूर्णखोप पालिका घोषणा गरिएको हो ।
नगरपालिकामा स्वास्थ्य सेवा प्रवाहका लागि नगरपालिका भर पचास जना स्वास्थ्यकर्मीहरू र संरचनागत रूपमा हेर्दा एक प्राथमिक स्वास्थ्य केन्द्र, चार स्वास्थ्य चौकीहरू, चार आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू, तीन सामुदायिक स्वास्थ्य इकाईहरू, बाइस खोप केन्द्रहरू, सत्र गाउँघर क्लिनिकहरू र ४७ सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरू रहेका छन्। यी बाहेक केही निजी तथा गैर सरकारी स्तरबाट पनि स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ ।
पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ (संशोधित २०७७) बमोजिम नगरपालिका स्थित सम्पूर्ण स्वास्थ्य संस्थाहरूले स्वास्थ्यकर्मीहरू मार्फत वडा कार्यालयसँग समन्वय गरी हरेक वर्ष जस्तै चालु आ.ब. मा पनि माघ महिना देखि सुरु गरी आफ्नो कार्यक्षेत्रका लक्षित वर्गका सम्पूर्ण घरधुरीहरूमा पुगी तोकिएबमोजिम सर्वेक्षण गरी ‘खोज र खोप अभियान’ समेत सञ्चालन गरी पाँच वर्ष मुनिका खोप लगाउन छुट बालबालिकाहरूको पहिचान गरी छुटेको भेटिएका सम्पूर्ण बालबालिकाहरूलाई खोप लगाउने कार्य समेत सम्पन्न गर्दै नगरपालिकाका ९ वटै वडाहरूले ०८१ साल जेठ २२ गते सम्म पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गर्ने कार्य सुरु गरी आज नगरपालिकालाई पूर्ण खोप सुनिश्चित दिगोपना नगरपालिका घोषणा गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुराधा भट्टले बताइन् ।
भिमादमा हाल १५ महिना भित्रका ३९९ बालबालिकाहरूले खोप लगाइरहेका र ५ वर्ष मुनिका १३९९ जना बालबालिकाहरूले पूर्ण खोप पाएको कार्यक्रममा उनले बताइन् ।
नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले बर्षायाम, बाढीपहिरो र अन्य कुनै विपद् नभनी अहोरात्र रूपमा खटिई खोप सेवा जनताको घरदैलोमा पुर्याउन खटिने स्वास्थ्यकर्मी, बच्चालाई खोपको महत्त्व बुझी खोप केन्द्र सम्म खोप लगाउन लैजाने आमा तथा अभिभावकहरू, तथा खोप सेवाको लागि परामर्श सेवा दिने महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा स्वास्थ्य आमा समूहरु सबैलाई धन्यवाद दिँदै आगामी दिनमा अभिभावकीय सहयोग निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरे ।