काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ऋण लिएर संघीयता धान्ने कुरा गलत भएको टिप्पणी गरेका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले साधारण खर्चको बोझ घटाउन संघीयता खारेज गर्नुपर्ने बताए ।
‘साधारण तर्फको बढ्दो बजेट भोलुमको मुख्य कारण संघीयता हो । संघीयताका कारणले साधारणतर्फको खर्च बढेको छ । साधारणतर्फ बढेको खर्चलाई पूर्ति गर्न करको दायरा वर्षैपिच्छे बढाउनुपरेको छ । जसको परिणाम नेपाली जनतामाथि अनावश्यक प्रकारको आर्थिक बोझ थपिदै गएको छ । त्यसैले संघीयतालाई कायम राखेर साधारणतर्फको खर्च घटाउन सकिन्न । र मुलुकलाई संघीयताका कारण उत्पन्न बोझबाट मुक्त गर्न सकिन्न’, उनले भने ।
सांसद केसीले अगाडि भने, ‘वैदेशिक ऋण लिएर संघीय संरचना धान्ने कुरा गलत भएकाले संघीय संरचना हटाउन पर्छ ।’
सांसद केसीले उत्पादन र उत्पादकत्वमा वृद्धिमा सरकारले बजेटको व्यवस्था गर्न नसकेको पनि बताए ।