बाँके– नरैनापुर गाउँपालिकाका शिक्षा अधिकृत कृष्ण थारु र प्राविधिक कमल केसीमाथि कुटपिट भएकाे छ । शिक्षक भर्नामा घुस लिएको आरोप लगाउँदै विनय प्रकाश दीक्षित नेतृत्वको समूहले कुटपिट गरेकाे हाे ।
गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विजय प्रकाश दीक्षितको नेतृत्वमा गुरुमुरत यादव,आरिफ खान, प्रमोद कुमार शर्मा, मो. जाबेद खान, अब्बु हसन खान, र शिक्षकहरू राधेश्याम यादव, सन्तोष कुमार बहुन, गोरख बहादुर राना, रिता चौधरी, चन्द्रेश्वर त्रिपाठी, धर्म प्रकाश जैसवाल लगायत २०/२५ जनाको समूहले मादक पदार्थ सेवन गरी कार्यालयमा प्रवेश गरी आक्रमण गरे।’
आइतबार अत्यधिक गर्मीले जनजीवन प्रभावित भइरहेका बेला शिक्षा अधिकृत थारुलाई कोठामा थुनेर बहिरबाट बिद्युत्को लाइन समेत दीक्षितले काटिदिएका थिए । शिक्षा अधिकृत थारुले आफ्नो ज्यान बचाई दिन फोन मार्फत गुहार मागे पछि शिक्षकहरूको सहयोगमा ताल्चा तोडेर थारुलाई बहिर निकालिएको थियो ।
सुरक्षाको माग गदै कर्मचारीले सोमबार देखि गाउँपालिकाको कामकाज ठप्प पारेका छन् । गाउँपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकले समेत दोषीमाथि कारबाहीको माग गर्दै अनिश्चित कालका लागि विद्यालय बन्द गरेका छन् । शिक्षक नियुक्तिमा कमिसन लिएको आरोप लगाउँदै विनय दीक्षित नेतृत्वको समूहले शिक्षा अधिकृत थारुको कार्यकक्षमा पुगेर आइतबार अभद्र व्यवहार गर्दै शारीरिक तथा मानसिक यातना दिएका थिए ।
आफूमाथि लगाएको आरोप निराधार, कपोकल्पित र झुटा भएको शिक्षा अधिकृत थारु दाबी गछन् । कर्मचारीमाथि कानुनी राज्यको धज्जी उडाउँदै गरिएको अमानवीय व्यवहार प्रति नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनक लाल थारुले समेत दुःख व्यक्त गरे ।
संयुक्त रूपमा एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै कर्मचारीहरूले कानुनी राज्यमा गैर कानुनी कामलाई प्रोत्साहन दिन नहुने बताउँदै अराजक समूहले पटक पटक गाउँपालिकामा आतङ्क समेत मच्चाउने गरेको, जनप्रतिनिधिमाथि विभिन्न आरोप लगाउने र कर्मचारी माथि आक्रमण गर्ने गरेको प्रति चिन्ता व्यक्त गदै उनीहरूले लगाएको आरोप पुष्ट गर्न वा सप्रमाण लिएर आउन चुनौती समेत दिए ।
कर्मचारीमाथि कुनै पनि बहानामा आक्रमण गर्नु राम्रो नभएको बताउँदै नरैनापुरका अध्यक्ष इश्तियाक अहमद शाहले कर्मचारीहरू माथि भएको आक्रमणको निन्दा गर्दै कानुनी कारबाही गर्न गृह प्रशासनसंग अपिल गरे।
उनले गाउँपालिकाको दैनिक कामकाज र पालिका भित्र रहेका सबै विद्यालयहरू सुचारु गर्नका लागि पहल गरी रहेको बताए ।