काठमाडौं- सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ।
आइतबार राति भएको फाइनलमा कोलकाताले सनराइजर्सलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक आईपीएल उपाधि उचालेको हो। कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको हो।
हैदरावादले दिएको १ सय १४ रनको मध्यक लक्ष्य कोलकाताले १०.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। कोलकाताले ओपनर सुनिल नारिनलाई ६ रन बनाउँदा दोस्रो ओभरमा नै गुमाएको थियो।
दोस्रो विकेटका लागि रहमनुल्लाह गुर्बाज र वेंकटेश ऐरले ९१ रनको साझेदारी गरेपछि कोलकाताले सहजै लक्ष्य भेट्टाएको हो। गुर्वाज ३९ रन बनाउँदा एलबीडब्लु धरापमा परे। वेंकटेश ५२ र कप्तान श्रेयस ऐर ६ रनमा अविजित रहे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सनराइजर्सले १८.३ ओभरमा १ सय १३ रन बनाउँदा अलआउट भयो।
कमजोर सुरुवात गरेको सनराइजर्सका लागि कप्तान प्याट कमिन्सले बनाएको २४ रन नै सर्वाधिक रह्यो। र एडन मारक्रमले २० र नितिश कुमार रेड्डी १३ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
सनराइजर्सलाई कम स्कोरमा रोक्न कोलकाताका आन्द्रे रसलले ३ विकेट लिए। हर्षित राना र मिचेल स्टार्कले समा २ विकेट लिए। वैभव अरोरा, सुनिल नारायण र वरुण चक्रवर्तीले समान १ विकेट आफ्नो नाममा गरे।