काठमाडौं- काठमाडौं जिल्ला अदालतले बूढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारीसहित तीन जना वडाध्यक्षलाई एक महिना कैदको फैसला सुनाएको छ।
अदालतको अवहेलना मुद्दामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले मेयर अधिकारीसहित वडाध्यक्षहरू नवराज भट्टराई, सुमन तामाङ र चन्द्रमान श्रेष्ठलाई शुक्रबार सजाय सुनाएको हो।
बूढानीलकण्ठ नगरपालिका-१० मा निर्माणाधीन नगर अस्पतालको टहरा व्यक्तिको जग्गामा बनाएको र सो टहरा हटाउन यसअघि दिएको आदेश उल्लंघन गरेको अदालतको ठहर छ।
विवादित क्षेत्रमा रहेका संरचनाहरू हटाउनको लागि सय दिनको समयसहित यसअघि जिल्ला अदालतबाट २०८०/१८ मा चलान दिएकोमा संरचना नहटाउने कार्यले अदालतको फैसला सम्मान नगरेको देखिन आएको अदालतको जिकिर छ।
माथि उल्लिखित कैदका हकमा प्रतिवादीहरूले अब ६० दिनभित्र संरचना हटाई निवेदक एवं वादीलाई चलन दिई कब्जा छाडि दिएको प्रतिवेदन पेस गरेमा उक्त कैद असुल गर्न नपर्ने फैसलामा सर्त राखिएको छ।
‘प्रतिवादीहरूले ६० दिनमा संरचना हटाई नलगेमा अदालतबाट संरचना हटाई दिन लाग्ने खर्च प्रतिवादीहरू मध्ये नगरपालिकाबाट असुल गर्नु,’ फैसलामा भनिएको छ।