काठमाडौं– प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् ।
संसदको अवरोध हटाउन राजनीतिक सहमतिका लागि प्रचण्ड देउवालाई भेट्न उनकै निवास पुगेको उनको सचिवालयले जनाएको छ ।
कांग्रेस नेताहरू बिहानैदेखि देउवा निवासमै छलफल गरिरहेका छन् ।
यसपछि सत्तारुढ दलहरूले छलफलका लागि कांग्रेसलाई बोलाएका थिए । त्यसअघि देउवाले आन्तरिक छलफल गरिरहेका छन् । यसैबीच आज नै प्रतिनिधिसभा बैठक बस्दैछ । विरोधकै बीच नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी छ ।
सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने लगायत १४ वटा सम्भावित कार्यसूची रहेको छ ।
तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै छानबिन समिति बनाउन माग गर्दै सदन अवरोध गर्दै आएको छ ।
समिति बनाउने विषयमा दुवै पक्ष तयार भए पनि कार्यादेश टुंगिन सकेको छैन । शुक्रबार पनि सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी थियो । तर, कांग्रेससँगको वार्ता सकारात्मक नभएपछि आजसम्मलाई सारिएको थियो ।
सहकारी प्रकरणको विषयलाई लिएर अवरुद्ध संसद खुलाउने प्रयासमा प्रधानमन्त्रीले आज पनि बालुवाटारमा शीर्ष नेताको बैठक बोलाएका छन् ।