काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आफ्नो नाममा काठमाडौं उपत्यकामा घर घडेरी केही पनि नरहेको सार्वजनिक गरेका छन्।
उनले रोल्पामा ८२० वर्गमिटर जग्गाबाहेक आफ्नो नाममा देशका कुनै पनि ठाउँमा घर घडेरी नरहेको उल्लेख गरेका हुन्। ८२० वर्गमिटर भनेको २५ आना हो।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा वैशाख १८ गते बुझाएको विवरण अनुसार नगदको मामिलामा भने उनी प्रधानमन्त्री पुष्पकमल दाहालभन्दा धनी देखिएका छन्।
उनले आफ्नो नाममा बैंकमा ३७ लाख ७० हजार ६१८ रुपैयाँ रहेको देखाएका छन्। त्यो रकम तलब र भ्रमण भत्ताबाट प्राप्त भएको उनको भनाइ छ। उनको नाममा तीन वटा बैंकमा खाता रहेकामा दुई वटामा एक रुपैयाँ पनि नरहेको उल्लेख गरिएको छ। प्रधानमन्त्री दाहालले आफूसँग २५ लाख नगद रहेको उल्लेख गरेका छन्।
सेयर र ऋण पनि केही नरहेको उल्लेख गरेका पुनले आफूसँग एउटा हुलुका सवारी साधन रहेको र त्यो पार्टीको सम्पत्ति भएको विवरणमा उल्लेख गरेका छन्।