भक्तपुर– चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको ताथली पुल बुडोल गोरेटो बाटो विस्तार पीडितहरूले आफूहरूलाई जानकारी नै नदिएर गोरेटो बाटो विस्तार गर्न खोजेको भन्दै दुःख व्यक्त गरेका छन् ।
ताथली पुलदेखि विडोलसम्मको झन्डै पाँच सय मिटर गोरेटो बाटो विस्तारका लागि भन्दै नगरपालिका वडा नं ९ ताथली वडा कार्यालयले आफूहरूलाई जानकारी नै नदिई सीमाङ्कन गरी खेतमा किला गाडेको पीडितले बताएका छन् ।
ताथली पुलदेखि वुडोलसम्मको गोरेटो बाटो हाल तीन फिट चौडाइको बाटो कायम छ । त्यही बाटो १३ फिट हुने गरी विस्तार गर्न वडा कार्यालयले थालेको हो । त्यस क्रममा ताथली पुलबाट कामसमेत सुरु भएको छ । बुडोलबाट पनि काम सुरु गरिएका छन् । तर त्यसबिचमा पर्ने खेतहरूमा गोरेटो बाटो विस्तारका लागि सीमाङ्कन गरी किला गाड्दा आफूहरूलाई कुनै खैखबर नै नगरी आ-आफ्नो खेतहरूमा किल्ला गाडेको स्थानीयहरूले बताए ।
आ-आफ्नो खेतमा किला गाडेको केही दिनपछि मात्रै आफूहरूलाई जानकारी भएको उनीहरूले बताए । उनीहरूले गोरेटो बाटो विस्तार विरोधी आफूहरू नभएको तर आफ्नो व्यक्तिगत सम्पत्तिमाथि मनोमानी गर्न नपाइने बताए ।
एक जना पीडित तुलसीनारायण लाखेमरुले आफूहरूलाई मौखिक लिखित केही जानकारी नै नदिई आफ्नो खेतमा सीमाङ्कन गरी किला गाडेको देखिएको जनाए । हामी यो किल्लालाई तुरुन्त उखेलेर फालिदिन पनि सक्छौँ, उनले भने, वडाले सल्लाह विना नै जबरजस्ती गोरेटो बाटो विस्तार गर्न खोजेको प्रमाण हामी देखाउन मैले अन्य पीडित साथीहरूलाई पनि अनुरोध गरेर राखिराखेका छौँ ।
अर्का पीडित लक्ष्मण फेलूले विस्तार विस्तारका क्रममा कोही विस्तार हुने खतरा रहेको र कोहीलाई भने एकदमै धेरै झ्याप्पै फाइदा हुने देखिएकोले यो सबै विषयलाई नमिलाई गोरेटो बाटो विस्तार गर्न नदिने बताए । गोरेटो बाटो विस्तार गर्दा कोही पूरै विस्थापित नै हुने, कोहीको जग्गा धेरै बाटोमा पर्ने त कसैको केही पनि जग्गा कटी नभई ठ्याकै बाटोको मोहदा पर्न जाने अवस्था रहेको बताए । यसो हुन नदिन यसका लागि लगत कटा गर्नु पहिलो आवश्यकता रहेको उनले बताए ।
पीडित रामसुन्दर लाखेमरुले बाटो विस्तारको क्रममा आफ्नो मात्रै डेढ रोपनी भन्दा बढी जग्गा बाटोले खान लागेको भन्दै चिन्ता व्यक्त गरे । आनाको लाखौँ रुपैयाँ पर्ने आफ्नो यत्रो जग्गा बाटोले खाने गरी कुनै हालतमा बाटो विस्तार गर्न नदिने उनले बताए ।
पीडितलाई मुआब्जा दिएर अगाडि बढ्नुपर्ने आवश्यकता उनले औँल्याए । आफूहरूले विरोध गर्ला भनेर नै वडाले सीमाङ्कन गर्दा विरोध गर्न सक्ने पीडितहरू जतिलाई नबोलाई गोरेटो बाटो विस्तार गर्दा फाइदा पुग्न सक्ने सहमति जनाउने खालका सरोकारवालाहरूलाई मात्रै खबर गरेको आरोप उनले लगाए । अझ केही पीडितले खेतको बिचमा दुई चार जनाले दुई चार आना जग्गा किनेको र उनीहरूको हितका लागि वडाले नियोजित रूपमा गोरेटो बाटो विस्तार कार्य अगाडि सारेको आरोप लगाए ।
चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीका वडाध्यक्ष गणेश त्यातले कसैलाई पेलेर बाटो विस्तार गर्ने उद्देश्य आफूहरूको नरहेको स्पष्ट पारे । कोही पीडित बाटो विस्तार गर्न चाहनुहुन्न भने हामी जबरजस्ती बाटो विस्तार गर्दैनौँ, उनले भने, बाटो विस्तार पछि फाइदा उहाँंहरुलाई नै हुने हो, हामीलाई होइन ।
उनले सीमाङ्कन अगाडि सार्वजनिक सूचना जारी गरेको जनाए । त्यो सूचना कसै कसैले थाहा नपाएको हुनसक्ने उनले स्पष्टीकरण दिए । पछिल्लो बुधवार सिंमाकन कार्य भएको जनाइएको छ ।