काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबार एकिकृत निर्देशनलाई संशोधन गर्दै चेक काटिएको एक हप्तासम्म भुक्तानी नभए खातावालालाई कालोसूचीमा राख्ने व्यवस्था गरेको छ । यसअघि पटक–पटकसम्म पनि काटिएको चेक रकम भुक्तानी नभए कालोसूचीमा राख्न सकिने व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले एक हप्ताको सीमा तोकेको हो ।
सर्वोच्च अदालतले चेक बाउन्सको मुद्दा सरकारवादी नहुने गरी ब्याख्या गरेपछि राष्ट्र बैंकले नयाँ नीति लिएको हो ।
राष्ट्र बैंकको नयाँ व्यवस्थापछि अब कसैले काटेको चेकमा उल्लेखित पैसा खातामा नभए बढीमा एक हप्तामै भुक्तानी गरिसक्नु पर्नेछ । चेक काटेको एक हप्तामा पनि भुक्तानी नभए राष्ट्र बैंकले कालोसूचीमा राखेर कारबाही अघि बढाउने छ ।
काटिएको चेकको खातामा रकम अपुग भएमा वा हस्ताक्षर नमिलेमा बैंकले एक साताको समयसीमा दिएर रकम भुक्तानी गर्न खातावालालाई जानकारी दिनु पर्ने निर्देशनमा उल्लेख गरिएको छ । त्यो अवधिमा पनि भुक्तानी नभए बैंकले नै कर्जा सूचना केन्द्रमा कालोसूचीका लागि पत्राचार गर्नु पर्ने राष्ट्र बैंकले बताएको छ ।
बैंकले नगरे बैंकलाई समेत कारबाही हुने राष्ट्र बैंकले बताएको छ ।