काठमाडाैं- सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न काठमाडौं महानगरपालिकाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको छ । महानगरपालिकाले सोमबार पत्रकार सम्मेलन गर्दै सिप्रदीले नयाँ भन्दै पुराना गाडी बिक्री गरेको प्राविधिक परीक्षणका क्रममा देखिएको सार्वजनिक गर्यो ।
नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदीले नयाँ भनेर महानगरपालिकालाई ६ वटा सवारी बिक्री गरेको तर ४ वटा भने पुराना रहेको पत्ता लागेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए । महानगरले खरिद गरेका ६ वटा टिपरकै ब्लुबुकमा उत्पादन वर्ष २०२२ उल्लेख गरेको तर ४ वटा को उत्पादन वर्ष २०२१ रहेको पाइएको मानन्धरले बताए ।
हाइड्रोलिक ट्रिपर ट्रक खरिद गर्नका लागि महानगरपालिकाले ०८० वैशाख १५ गते सूचना प्रकाशित गरेको थियो । यसमा सिप्रदी ट्रेडिङले सफल बोलपत्रदाताको रुपमा छनोट भयो । यसबमोजिमका सवारी साधनहरु गएको माघ १७ गते महानगरपालिकालाई प्राप्त भएका हुन् ।
‘बोलपत्रसम्बन्धी कागजातको स्पेशिफिकेसनमा सन् २०२२ मा उत्पादन भएको (Hydraulic Tipper Truck manufactured in 2022 AD or latest year suitable for operation under rough working condition operating altitude of 2000m. and related maximum temperature (-50c to 500c)) उल्लेख छ । ब्लुबुकमा सबै सवारी साधनको उत्पादन मिति २०२२ लेखिएको छ तर ४ वटा च्यासिसमा भने उत्पादन मिति २०२१ लेखिएको छ । २ वटा सवारी साधनको च्यासिसमा मात्र उत्पादन मिति २०२२ छ । यसबाट झुक्याएर सामान उपलब्ध गराउन खोजेको स्पष्ट हुन्छ,’ प्रवक्ता मानन्धरले बताए ।
बोलपत्रदाताले खरिद सम्झौताको सर्त र बन्देज परिपालन गर्नुपर्छ । यो कानुनी दायित्व हो । सम्झौता विपरीत कार्य भएमा त्यसको जवाफदेहिता बोलपत्रदाताको नै रहन्छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६२ को उपदफा (२) को खण्ड (ख) अनुसार तथ्य बङ्ग्याएर वा झुक्याएर सार्वजनिक खरिद प्रक्रियामा कार्य गर्न नहुने व्यवस्था छ । यस्तो कार्य गरेमा सोही ऐनको दफा ६३ (१) (ग) बमोजिम बोलपत्रदातालाई ३ वर्ष सम्म कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्न सक्ने व्यवस्था छ । यही व्यवस्थाअनुरुप महानगरपालिकाले अनुगमन कार्यालयलाई सिफारिस गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जानकारी दिए ।
महानगरपालिकाले प्रचलित कानुनबमोजिम अन्य कारवाही गर्न वातावरण विभागलाई निर्देशन दिने प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णय भएको छ ।