काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ जना पक्राउ परेका छन्। आइतबार राति कपडामा लेप गरेर ल्याइएको सुनसहित प्रहरीले २ जनालाई पक्राउ गरको हो।
पक्राउ पर्नेहरूमा भारतको कर्नाटकका सुरेश कुमार र मोहन कुमार पक्राउ रहेका छन्। उनीहरूलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।
उनीहरू दुबईबाट त्रिभुवन विमानस्थल उत्रिएका थिए। उनीहरूले ४ वटा कपडामा सुन लेप गरेर ल्याएका थिए।
उनीहरूको साथबाट बरामद भएको सुनको परिमाण भने खुलिसकेको छैन। प्रहरीले सुनको परिमाण पत्ता लगाउन नेपाल राष्ट्र बैंकमा पठाउने तयारी गरेको छ। सुन कपडामा लिक्विड (तरल) अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ।
सुरेशकुमारको साथबाट २ किलो ६ सय ग्राम र गणेशनको साथबाट २ किलो पाँच सय ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ।
सुरेशकुमारले लगाएको सेतो रंगको टिसर्ट, निलो रङकै पेन्टी र कालो रङको जिन्स पाइन्टमा लेपन पेस्ट गरिएको अवस्थामा २ किलो ६ सय ग्राम सुन बरामद भएको हो।
त्यसैगरी गणेशनले लगाएको कालो रङको टिसर्ट, निलो पेन्टी र निलै रङको जिन्स पाइन्टमा पेस्ट गरिएको अवस्थामा २ किलो ५ सय ग्राम सुन बरामद गरिएको छ ।