काठमाडौं– गत आर्थिक वर्ष २०७९/८० को अन्त्यतिर बैंकहरूमा तरलता(पैसा)को अभाव थियो । ऋण लिन चाहने व्यक्ति थिए, बैंकमा पैसा थिएन । लामो समयदेखि बैंकहरूमा पैसाको हाहाकार देखिएका कारण बैंकमा ऋण लिन जाँदा पनि पैसा नपाउने अवस्था थियो । तर चालु आर्थिक वर्ष २०८०/८१ को सुरुदेखि बैंकहरूमा तरलता थपिँदै गएको छ भने ऋण लिनेहरु नहुँदा लगानीयोग्य रकम बैंकमा थुप्रिएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत मंगलबार (वैशाख २५) गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ५ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ ।
केन्द्रीय बैंकका अनुसार मंगलबारसम्ममा बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ७५ अर्ब रुपैयाँँ निक्षेप संकलन भएको छ । जसमध्ये वाणिज्य बैंकहरूमा ५४ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूमा ७ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप छ ।
उक्न निक्षेपमध्ये ५१ खर्ब ११ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरेका छन् । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले ४५ खर्ब २० अर्ब र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले ५ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
निक्षेप र कर्जाबीचको अन्तर १० खर्ब ६४ अर्ब रुपैयाँ रहेको छ । अहिले निक्षेप र कर्जाबीचको अनुपात (सीडी रेसियो) ८०.५१ प्रतिशत रहेको छ । अर्थात्, बैंकहरुमा ५ खर्ब ५५ अर्ब रुपैयाँ बराबर लगानीयोग्य रकम थुप्रिएको छ ।
राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत तोकेको छ । बैंकहरू आफूले संकलन गरेको जम्मा निक्षेप रकमको १० प्रतिशत सुरक्षाका लागि राखेर बाँकी लगानी गर्नुपर्ने हुन्छ ।