काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा वैशाख ३० गते प्रस्तुत गर्ने तयारी गरेको छ।
संघीय संसद्को वर्खे अधिवेशन २८ गते सुरु हुन लागेकामा त्यसको दुई दिनपछि सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको हो।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा बजेट संसदबाट सार्वजनिक गर्नुपर्छ। त्यसअघि नीति तथा कार्यक्रम ल्याउने गरिएको छ। संसदमा नीति तथा कार्यक्रम सरकारका तर्फबाट राष्ट्रपतिले प्रस्तुत गर्नेछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारको नीति तथा कार्यक्रम वैशाख दोस्रो हप्ता नै संकलन गरिसकेको छ।
कार्यालयले आगामी आवका लागि तय भएका सबै योजना तथा कार्यक्रम सबै सम्बन्धित निकायबाट संकलन गरेको थियो। सरकारले बजेट अधिवेशन २८ गतेदेखि बोलाइसकेको छ।
सभामुख देवराज घिमिरेको पहलमा मंगलबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेताको बैठकमा अवरोध हटाउनेबारे छलफल भएपनि सहमति हुन सकेको थिएन।
कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनाको आरोपबारे संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। यो माग राखेर कांग्रेसले यसअघिको अधिवेशनमा अवरोध गरेको थियो। कांग्रेस बजेट अधिवेशनमा पनि अवरोधलाई निरन्तरता दिने तयारीमा छ।