काठमाडौं– सिप सिकेर स्वदेशमा काम गर्छु, नेपालमा रोजगार र स्वरोजगारका धेरै सम्भावना छन् भन्ने सोच विकास गर्न काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रशिक्षार्थीहरुलाई आग्रह गरेकी छन् । सिप मेलामा चलेका कक्षाहरुको निरीक्षण गर्ने क्रममा उनले प्रशिक्षार्थीहरुसंग अपेक्षासहित आग्रह गरेकी हुन् ।
उनलाई सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा, रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि कार्यक्रमका फोकल पर्सन शान्ता पहाडी, रोजगार संयोजकहरु देवेन्द्र केसी, अजय पौडेलले तालिमसंग सम्बन्धित व्यवस्थापकीय पक्षमा जानकारी गराएका थिए ।
प्रशिक्षार्थीहरुसँग अन्तरक्रिया गर्दै उपप्रमुखले उनीहरुका अपेक्षाका बारेमा जानकारी लिएकी थिइन् । प्रशिक्षार्थीहरुले सिप विकासका विशिष्ट कक्षाहरुको अवसरको अपेक्षा राखेका थिए ।
सिप मेलामा १० विधाका ३० वटा पेशासँग सम्बन्धित तालिम चलिरहेका छन् । २९ वटा पेशा राखिएकोमा मोवाइल रिपेयरिङ्को अत्याधिक माग आएपछि यो पेशा थप गरिएको हो । यस्तै टेलरिङ् ( ड्रेस मेकिङ्) मा संख्या धेरै भएपछि कक्षा थप गरिएको छ ।
तालिमहरु ७ दिन, १५ दिन र ३० दिन समयावधिका छन् । रोजगार संयोजक केसी भन्छन्- ‘प्रशिक्षक र प्रशिक्षार्थी दुवैलाई समयको पालनामा ध्यान दिन लगाइएको छ । एकै समयमा कक्षा सुरु हुने र एउटै समयमा सकिने भएकोले कसैबाट कसैलाई डिस्टर्व छैन ।’
१० वटा विधामध्ये अटो मोवाइल्समा ३ वटा पेशासँग सम्बन्धित तालिम छन् । पहिलो पेशा अटो इलेक्ट्रिक हो । यो १५ दिन अवधिको हो । दोस्रो अटो एअर कन्डिसन हो । यो पनि १५ दिनकै हो । तेस्रो इलेक्ट्रिकल कार रिपेयर (इभी) हो । यसमा ३० दिनको कक्षा हुनेछ ।
निर्माण विधा (दोस्रो) मा डकर्मी (म्यासन), टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ् गरी ४ वटा पेशासँग सम्बन्धित तालिम छन् । यी सबै तालिम ३० दिन अवधिका हुन् । हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा (तेस्रो) मा वारिस्ता, फास्ट फुड एण्ड कुक, वेकरी, वार टेन्डिङ् र वेटर÷वेट्रेस तालिम छन् । यीमध्ये फास्ट फुड कुक १५ दिनको हो । अरु ७ दिन अवधिका हुन् ।
सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी) विधा (चौथो) मा ४ वटा पेशाका तालिम छन् । डिजिटल मार्केटिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सीसीटिभी क्यामरा र मोवाइल रिपेयरिङ्का कक्षा चलिरहेका छन् । यीमध्ये सीसीटिभीको कक्षा ७ दिन अवधि र अन्य पेशाका कक्षा १५ दिन चल्नेछन् ।
मेकानिकल विधा (पाँचौँ) मा २ वटा पेशा छन् । वेल्डिङ् पेशाको १५ दिन र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको ३० दिन तालिम हुनेछ । आर्ट एण्ड कल्चर विधा (छैटौँ) मा आर्ट एण्ड स्कप्चरको तालिम चलेको छ । यसको अवधि १५ दिनको हुनेछ ।
गार्मेन्ट्स विधा (सातौँ) मा टेलरिङ् / ड्रेस मेकर र फेसन डिजाइनिङ् गरी २ वटा पेशासँग सम्बन्धित कक्षा चलेका छन् । यी दुवै १५ दिन अवधिका तालिम हुन् । टेलरिङ् र डेस मेकरमा अत्याधिक माग भएकोले यसलाई हरेक सिफ्टमा २÷२ वटा कक्षा चलाइएको छ ।
व्युटिसियन (सौन्दर्य कला) विधा (आठौँ) मा ५ वटा पेशा समेटिएका छन् । यसमा नेल आर्ट, हेयर कट एण्ड स्टायल र सैलुन १५/१५ दिन अवधिका हुन् । मेक अप आर्ट, आइलेस आर्ट ७ दिन अवधिका हुन् । डिजाइनिङ् विधा (नवौँ) मा ७ दिन अवधिको स्क्रीन प्रिन्टको कक्षा छ ।
पुरोहित विधा (दशौँ) मा १५ दिन अवधिको पुरोहित र ७ दिन अवधिको ज्योतिष तालिम चलिरहेका छन् ।
तालिमको अन्तिम २ दिन रोजगार मेला हुने र यस दिन रोजगारदाताहरुले सम्बन्धित तालिम प्राप्त व्यक्तिहरु सम्पर्कमा गएर आफ्नो सिपका बारेमा बताउने र धेरै बेरोजगारले रोजगार पाउन सक्ने महानगरले बताएको छ ।