राजविराज– आर्थिक र सामाजिक रूपमा पछाडि रहेको समुदायको महिलाहरूलाई सशक्तीकरणको लागि सप्तरीको छिन्नमस्ता गाउँपालिकामा रुई परियोजना सञ्चालनमा ल्याइएको छ ।
छिन्नमस्ताको समन्वयमा वर्ल्ड फुड प्रोग्रामको नेतृत्वमा युएनको पाँचवटै एजेन्सीद्वारा उक्त पाँच वर्षे आयोजना सञ्चालनमा रहेको छ ।
उत्पादन मुलुक क्षेत्रमा लगाएर पिछडिएका महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन यो परियोजना सञ्चालनमा ल्याएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।
उनले यस परियोजनामा ३४ वटाको समूहको ९ सय भन्दा बढी महिलाको प्रत्यक्ष सहभागिता रहेको जानकारी दिए ।
‘छिन्नमस्ताको ३ नं र ५ नं वडामा महिलाहरूको समूह बनाएर करिब ६ महिनादेखि यो परियोजना संचालानमा रहेको छ,’ उनले भने, ’यस परियोजना मार्फत उनीहरूलाई कृषि, लघु उद्यम सम्बन्धी तालिम, बिउ बिजन दिने तथा उत्पादन मुलुक क्षेत्रमा सघाउने लगायतका कामहरू गर्ने गरिन्छ।’
उनले यही १७ गते मात्र वडा नं ३मा ६ सय ३१ जनालाई ६ हजार ७ सय २० केजी र वडा नं ५ मा १० केजीको दरले हुने गरी १ हजार ५ सय ७५ केजी धानको बीउ वितरण गरेको बताए ।
अध्यक्ष चौधरीले वितरण गरिएको बिउ मदर सिड्स (आमा बिउ) रहेकोले अगामी वर्षमा पनि त्यसैबाट बिउ प्रयोग हुनसक्ने बताए ।
‘दोस्रो चरणमा महिला सदस्यहरूलाई निःशुल्क उन्नत जात अन्तर्गतको साबा मन्सुली, राधा १२, सुखा धान,बहु बुनी, सर्बना धानको मूल बिउ वितरण गरेका छौँ, जसले उत्पादनमा वृद्धि,पोषणलाई सबल,वातावरणीय प्रभावमा जलवायु अनुकरण, जीविकोपार्जनमा जोड तथा आर्थिक र सामाजिक रूपले पछाडि परेका महिलाहरूलाई आर्थिक सशक्तीकरणमा टेवा पुग्ने छ,’ उनले भने, ’यस परियोजना अन्तर्गत यस अघि कोदो(मरुवा)को बीउ ८० केजी, तरकारी तथा हिउँदे तरकारीको बिउ करिब ३० बिघा जमिनलाई पुग्ने गरी ५८ केजी वितरण गरिसकेका छौँ भने उन्नत जातको धानको बीउ ३ मेट्रिक टन, गहुँको बिउ १० हजार ८० केजी, आलु हाइल्याण्डको बिउ ७५० केजी वितरण गरिसकेका छौँ ।’
अध्यक्ष चौधरीले ५ वर्षको यस परियोजनामा करिब ५ अर्ब रुपैयाँ लागत लाग्ने जनाएका छन् । उनले भने, ’यो परियोजना ५ वर्षको छ, करिब ५ अर्ब लागत लाग्नेछ, यसमा अझै थप कार्यक्रमहरू हुँदै जानेछ ।’