काठमाडाैं– प्रतिनिधिसभाका सांसद एकनाथ ढकालले देशमा राजनीतिक स्थायित्वका लागी ठुला राजनीतिक दलहरू मिल्नुपर्ने बताएका छन् । शुक्रवार गृह जिल्ला गोरखा आएका ढकालले पत्रकारहरूसँगको भेटमा देश लामो समयदेखि राजनीतिक अस्थिरतामा गुज्री रहेकाले यसबाट मुक्त हुन नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र मिलेर अघि बढ्नु आवश्यक रहेको बताए ।
‘मुलुकमा विगत लामो समयदेखि राजनीतिक अस्थिरता छाइरहेको छ, एक वर्षमै ३ पटकसम्म गठबन्धन परिवर्तन भएको छ, यसले मुलुकलाई अस्थिरता तर्फ डोहोराईरहेको छ,’ उनले भने, ‘राजनीतिक स्थायित्व नभएसम्म देश विकास हुन कठिन छ । यो अस्थिर अवस्थामा मुलुकलाई कमजोर बनाउन विभिन्न शक्तिहरूले झन् अवसर पाउँदै छन् । त्यसैले ठुला राजनीतिक शक्तिहरू एक भएर स्थिर सरकार र राजनीतिक स्थायित्व कायम गर्नु आजको आवश्यकता हो ।’ ठुला शीर्ष दलका नेताहरूको सम्बन्ध सुधार हुँदै गएकोले यो सम्भावना रहेको पनि उनले बताए ।
अहिले बजेट अधिवेशन आउन लागेको भन्दै उनले बजेटमा गोरखाले प्राथमिकता पाउनु पर्ने दाबी गरे । ‘गोरखाबाट जितेर गएका व्यक्ति मुलुकको प्रधानमन्त्री हुनुहुन्छ, यो अवस्थामा गोरखाको विकासमा कायापलट हुने गरी बजेट विनियोजन हुनुपर्छ, यो हाम्रो अधिकार पनि हो,’ उनले भने, ‘बुढीगण्डकी आयोजना, बेनिघाट लार्के सडक, गोरखकाली रबर उद्योग, पालुङटार एयरपोर्ट जस्ता ठुला आयोजना सञ्चालन गर्नका लागी आउँदो बजेटले प्राथमिकता पाउनुपर्छ । यस विषयमा म संसद्मा आवाज उठाउनेछु ।’ साथै उनले, विभिन्न साम्प्रदायिक द्वन्द्व भड्काउने प्रयास भइरहेको भन्दै सामाजिक सद्भाव भड्किन नदिन सचेत रहन पनि आग्रह गरे ।
अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव काजीराम रोका, परिवार दलका महामन्त्री प्रकाशबाबु थापा लगायतका नेताहरूले आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालको संयोजकत्वमा आयोजित अर्को एक अन्तरक्रिया कार्यक्रम नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, बन तथा सुरक्षा विभागका प्रमुख हरूलाई जिल्लामा विद्यमान जटिल समस्याहरूसँग जुधेर उचित निकास निकाल्नुपर्ने र यो सबै सामूहिक प्रयत्नबाट मात्र सम्भव हुने भन्दै भ्रष्ट्राचार शून्य जिल्ला बनाउन पनि मद्दत हुने धारणा राखेका थिए।