गोरखा- ऐतिहासिक धरोहर तथा पर्यटन विकासको प्रबल सम्भावना रहेको गोरखा जिल्लामा थप अरू आकर्षणहरू पनि फेला पर्दै गएका छन्
यदि त्यहाँ प्राप्त साधन र स्रोतहरूलाई संरक्षण र संवर्द्धन गर्न सकियो भने जिल्लाको उत्तरी भेगमा पर्ने अजिरकोट गाउँपालिका वडा नं. ५ मुच्चोक, साउने स्थित हात्तीसुंढे नामक शिव गुफाले पनि जिल्लाको पर्यटन विकासको दृष्टिले कम चर्चा भने पाउन सक्दैन ।
अहिले गाउँपालिकाले पर्यटन विकासको सम्भाव्यता अध्ययन गरिरहेको अवस्था पनि छ । सदरमुकामबाट करिब ६ घण्टामा पैदल यात्रा गरी वा सडक मार्गबाट पनि केही घण्टामा पुग्न सकिने उक्त गुफा मिति २०६० साल कार्तिक महिनामा स्थानीय युवा बाबुराम देवकोटा र योगेन्द्र गुरुङले पहिलो पटक बनपात गर्ने क्रममा देखेका थिए ।
ऐतिहासिक प्राकृतिक र पुरातात्त्विक महत्त्व राख्ने खालका धार्मिक चित्रहरू, शिव लिङ्ग, शिवको फोटो, हात्ती, गाई, तथा शिव हात्तीको सूँडबाट शिव लिङ्गमा पानी झरी रहेको प्रत्यक्ष देख्न सकिने विभिन्न आकृतिहरू, दियो, कलश, पार्वती र महादेव तथा गणेशको तस्बिर आदी रहेको गुफा आवश्यक संरक्षण र पहिचानको अभावमा ओझेलमा परिरहेको छ ।
याे पनि,
लामो समयदेखि संरक्षणको पर्खाइमा ‘हात्ती सुँडे गुफा’
यदि उक्त गुफाको थोरै भए पनि संरक्षण तथा प्रचार प्रसार गर्न सक्ने हो भने पर्यटन विकासको दृष्टिले राम्रो हुने देखिन्छ । तत्कालीन समयमा त्यसले धेरै चर्चा पायो र स्थानीयको सहयोगमा करिब डेढ दुई सय जना भन्दा बढी अट्ने क्षमता भएको उक्त गुफाको संरक्षणको लागि गुफाको दुवै तर्फ ढोका निर्माण गर्ने र वरिपरि वाटो तथा सामान्य प्रकारको सुरक्षा वार निर्माण गरिएको थियो ।
त्यस बेला गोरखाका प्राय, सबै गाविसहरूबाट, वृद्ध वृद्धा, युवायुवती, विद्यार्थीहरू तथा सुरक्षाकर्मीहरू, राजनीतिक दलका नेता कार्यकर्ताहरू र अन्य स्थानीय समाजसेवीहरूले दर्शन गरी भेटी चढाउने काम भएको थियो भने त्यसै समयमा विभिन्न व्राम्हणहरु तथा लामाहरू पढाउने काम पनि भएको थियो । जुन स्थानीय वृद्ध बृद्धाहरुको पहलमा भएको हो ।
विभिन्न व्यक्तिहरू तथा संघ संस्थाहरूबाट तत्कालीन समयमा संरक्षणको निमित्त भनेर आर्थिक सहयोग गर्ने आश्वासन समेत पाइएको थियो । त्यस वेला रेडियो नेपाल, नेपाल टी.भी., सामुदायिक एफएम रेडियो मार्फत पनि स्थानीय व्यक्तिहरूको पहलमा समाचार मार्फत सुसूचित गराइएको थियो ।
भने स्थानीय व्यक्तिहरूको पहलमा ‘हात्तीसुंढे शिव गुफा संरक्षण समिति’२०६१ गठन गरी सम्बन्धित निकायमा दर्ता समेत गरिएको थियो । तर त्यस ऐतिहासिक धार्मिक गुफाको लागी त्यस पछाडिको समयमा जति नै पहल गर्दा पनि सञ्चार माध्यमहरू, भूगर्भ विभाग, पुरातत्त्व विभाग आदि ठाउँहरूमा काठमाडौँसम्म नै गएर जानकारी गराउँदा एकले अर्कोलाई सम्पर्क गर्न भने तर विभिन्न कारण बताउँदै कोही त्यहाँ पुगेर प्रत्यक्ष निरीक्षण गर्न सकेनन् न त कुनै सहयोग नै ।
देशको अस्थिर राजनीति र भौगोलिक विकटताले पनि त्यसलाई नकारात्मक प्रभाव पार्यो । यसबिचमा त्यसको संरक्षणको कुनै पहल हुन सकेन भने उता स्थानीयहरूमा छाएको निष्कृयताले गर्दा उक्त धार्मिक प्राकृतिक गुफा ओझेलमा परेको अवस्थामा छ । पहिले निर्माण गरिएका संरचनाहरू समेत जीर्ण अवस्थामा पुगेको देखिन्छ ।
यस अघि उक्त भेगबाट काठमाडौँ गएर स्थायी वा अस्थायी रूपमा रहेका केही व्यक्तिहरूको पहलमा एउटा संरक्षणका निमित्त आर्थिक स्रोत सङ्कलन समिति बनाएर केही रकम उपलब्ध गराई त्यस गुफाबाट आउन जान सहजताको निमित्त सामान्य वाटो निर्माण कार्य भएको थियो ।
भविष्यमा नै त्यहाँ प्रवेशद्वारको रूपमा गुफाभन्दा केही माथि शिव मन्दिर निमार्ण गर्ने योजना गर्दै गर्दा आवश्यक सक्रियता र आर्थिक सहयोगको अभावमा उक्त अभियान सम्भव हुन सकेन । पत्ता लागेको यत्तिका समय बिती सक्दा पनि अझै उक्त गुफा ओझेलमा परिरहेको अवस्था छ ।
यसबारेमा राज्य पक्ष तथा सञ्चार कर्मीहरूले यसको बारेमा प्रत्यक्ष अवलोकन गरी सत्य तथ्य प्रचार प्रसार गर्न सके त्यसको महत्त्व झल्कने तथा राष्ट्रको हितमा पो रहने थियो कि? भन्ने यस भेगका जनमानसको धारणा रहेको छ । उनीहरूका अनुसार यस प्राकृतिक स्रोतको यदि संरक्षण र प्रचार प्रसार गर्ने हो भने यसले कुनै पर्यटकीय महत्त्व पाउने थियो कि ? भन्ने भनाइ छ ।