अछाम- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हरेक पालिकामा एउटा औद्योगिक ग्रामको विकास गर्ने वर्तमान सरकारको नीति रहेको बताएका छन् ।
अछामको कमलबजार नगरपालिका–६ स्थित कातइत्यानी हात्तीबास शैक्षिक एवं ज्ञानविज्ञान धार्मिक महामहोत्सवको आज उद्घाटन गर्दै उनले तीनै तहका सरकारको समन्वयमा उत्पादनको वर्गीकरण गरेर औद्योगिक ग्राम बनाउन सरकारले नीति ल्याउने बताए ।
सरकारले उत्पादन र रोजगारी वृद्धि गर्ने नीति अख्तियार गरेको उल्लेख गर्दै उनले उद्योग मन्त्रालयले उद्यमशिलतामा जोड दिएको बताए । मन्त्री भण्डारीले नेपालमा थुप्रै खनिज तथा खानीजन्य उत्खननलाई मन्त्रालयले प्राथमिकता दिन आन्तरिक नीतिगत अप्ठ्यारालाई सुधार गर्न लागेको जानकारी गराएका थिए ।
पूँजीगत बजेट चालु आवमा खर्च गर्न नसकेको उल्लेख गर्दै उनले त्यसले समृद्धिको लक्ष्यमा मुलुकलाई केही पछाडि पारेको बताए । सरकार न्यूनतम साझा कार्यक्रमअनुसार अगाडि बढ्ने उनको भनाइ छ । पछिल्लो पटक आर्थिक वृद्धिदरमा केही सकारात्मक सफलता देखापरेको जनाउँदै मन्त्री भण्डारीले आगामी दिनमा थप सुधार हुने अपेक्षा व्यक्त गरेका थिए ।
आगामी आर्थिक वर्ष सम्भावनाको वर्ष भएको जनाउँदै उनले सरकारका लागि आगामी वर्ष निराशा चिरेर आशा जगाउने वर्ष भएको उल्लेख गरे ।
उनले उद्योग मन्त्रालयले नयाँ कार्यक्रमको सुरुआत गरेको जानकारी दिए ।
मन्त्री भण्डारीले एक फरक प्रसङ्गमा भने, ‘अछामका तमाम जटिलता र चूनौती छन्, तिनलाई सम्भावनामा बदल्नुपर्ने छ, ग्रामीण क्षेत्रका समस्या समाधान राज्यले जिम्मेवार भएर सम्बोधन गर्नुपर्छ, सुन्दरता र सम्भावनाले भरिपूर्ण सांस्कृतिक जिल्ला अछाममा थुप्रै खानी तथा खनिजका भण्डार छन्, यसमा उद्योग मन्त्रालयले विशेष ध्यान दिनेछ ।’