बारा– कोल्हवी क्षेत्र र रौतहटको गुजारा नगरपालिका अन्तर्गत लालबकैया नदीबाट व्यापक रूपमा मापदण्ड विपरीत भइरहेको ढुङ्गा, गिट्टी बालुवा उत्खनन रोक्न नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सक्रियता देखाएको छ। पछिल्लो समय स्थानीय तहका कर्मचारी र विभिन्न निकायहरूको मिलोमत्तोमा नदीबाट नियम विपरीत व्यापक रूपमा ढुङ्गा, बालुवा र गिट्टी उत्खनन गरिरहेको छ।
रौतहटको हनुमानगन्ज, जङलसहिया, सिमरी क्षेत्रको बकैया नदीबाट मापदण्ड विपरीत ढुङ्गा बालुवा निकासी हुने गरेको छ। त्यस्तै कोल्हवी नगरपालिकाको अन्तर्गतमा रहेको बकैया नदीबाट ठेकेदारहरूले मापदण्ड विपरीत ढुङ्गा, बालुवा, गिटी र ग्राभेल उत्खनन गरेर रातारात ढुवानी गरिरहेको छ।
रातारात डोजर नदीमा लागेर उत्खनन गरी लागिरहेको अवस्थामा गत १९ गते राति डिभिजन वन कार्यालय रौतहटले प्रदेश सांसद सुनिल कुमार यादवको टिपर नियन्त्रणमा लिएको थियो। उनको शक्ति अगाडी टिक्न नसकेका वनका कर्मचारीले टिपर रातारात फिर्ता गरेको थियाे ।।
कोल्हवी नगरपालिकाले गरेको लालबकैया नदीको टेन्डर दुई करोड ९० लाख ४० हजारमा सुवेदी निर्माण सेवा, बरियापुरलाई नदी उत्खननको अनुमति दिएको थियो।
तीन वटा पोइन्टमा १ वटा एक्स्काभेटर प्रयोग गरी नदी उत्खननको अनुमति पाएको ठेकेदार कम्पनीले सुरुवाती दिनमा ६ वटासम्म एक्स्काभेटर प्रयोग गरेको थियो भने हाल चार वटा एक्स्काभेटर प्रयोग गरी उत्खनन गरिरहेका छन्।
बकैया नदीमा उत्खनन गर्न चारदेखि छ वटा एक्स्काभेटर र दुई दर्जन भन्दा बढी टिपरको प्रयोग हुँदै आउँदा पनि नियमनकारी निकाय जिल्ला प्रशासन र जिल्ला समन्वय समिति मौन बसेको स्थानीयले अनुगमन गरे ।
प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन अनुसार ठेकेदारले तोकिएको स्थान बाहेक अन्य स्थानहरूमा उत्खनन गरेको, मनपरी ढंगले ठुलो परिमाण निकाल्ने गरेको भेटिएपछि नेविसंघको टोलीले उत्खननमा लागेको तीन वटा एक्स्काभेटर साँचो बिहीबार साँझ खोसेर मेयर राम प्रसाद चौधरीलाई बुझाएको थियो।
मापदण्ड विपरीतको उत्खननले नदी क्षेत्रको वन जोखिनमा पर्नुको साथै र नदीले धारसमेत परिवर्तन गर्ने डरसमेत रहेकाले त्यस्तो कार्य अविलम्ब रोक्न नेविसंघले पाँच बुँदे ज्ञापन पत्रसहित मेयर चौधरिलाई बुझाएको छ।
ठेकेदारहरूका साथै प्रदेश सांसद यादवको जितेन्द्रको क्रसर उद्योगका मानिसले नियम विपरीत काम गर्दा पनि जिल्ला समन्वय समिति बारा, रौतहट र दुवै जिल्लाका स्थानीय प्रशासन मौन रहनुले उनीहरूको संरक्षण भएको हुनसक्ने अनुमान गरिएको छ।
सञ्जय मिश्रा/न्युज कारखाना