काठमाडौं– नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ को तयारी पूरा भएको छ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
स्वदेशी उत्पादनको प्रवर्द्धगर्ने उद्देश्यले महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक वैशाख २६ देखि ३० गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुँदैछ ।
मुलुकभरका झण्डै ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रतिविम्बित गर्ने प्रदर्शनीको मुख्य नारा ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने नारा रहेको छ ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले भने, ‘हाम्रो जस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका संवाहकका रुपमा रहेको भए तापनि पुरातन प्रविधिको प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेका कारण आकर्षक प्रतिफल दिन सकिरहेका छैनन् जसले गर्दा हाम्रा युवा पुस्ता यस्ता उद्योगप्रति आकर्षित हुन सकिरहेका छैनन् ।’
नेपालका तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवर्द्धनसमेत गरिने यस मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगलगायत सबैखाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी र बीटुजी जस्ता अन्तरक्रिया, छलफल र खाना महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षणका रुपमा रहने अध्यक्ष सिंहले बताए ।
प्रदर्शनीमा नेपाल मौरीपालक महासंघ र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडसँगको सहकार्यमा विविध अर्गानिक महका छुट्टै प्याभिलियन व्यवस्था गरिने महासंघले जनाएको छ ।
प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहनेछ । प्रदर्शनीमा २५० वटा स्टलको व्यवस्था हुनेछ । दुई लाखभन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रुर्पयाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको छ ।
मेलामा काठ/ढुङ्गा/धातु कला, सेरामिक्स, भाँडाकुँडाहरु बाँस, वेतबाँस आदिबाट निर्मित सजावटका सामानहरु, गलैंचा, राडीपाखी पश्मिनाका वस्तुहरु तथा ऊनी कपडाहरु, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तुहरु, नवीनतम प्रविधिहरु, नेपाली हाते कागजका वस्तुहरु, परम्परागत हस्तकलाका सामानहरु, अर्गानिक मह, कृषि तथा वनमा आधारित उत्पादनहरु, शिक्षा, पर्यटनलगायतका सेवा प्रदायक संघसंस्थाहरु, वैकल्पिक/नवीकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरणहरु र अन्य औद्योगिक वस्तुहरु प्रदर्शन गरिने बताइएको छ ।