पाेखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विश्वासको मत नदिने भएको छ । राप्रपाका केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले विश्वासको मत नदिने बताए । उनले कसैलाई सत्ता टिकाउनका लागि राप्रपाले मत दिन नसक्ने बताएका हुन् ।
‘अघिल्लै कार्यसम्पादन समितिको बैठकले निर्णय गरिसकेका छौँ । राप्रपा कुनै सरकारमा सहभागी नहुने र सत्तालाई बल पुग्ने गरी सहयोग नगर्ने निर्णय भैसकेको छ,’ उनले भने, ‘अहिले बसेको कार्यसम्पादन समितिको बैठकमा पनि गण्डकीको विषय उठेको थियो । सहयोग नगर्ने भन्ने नै भएको छ ।’
बाहिर चर्चा भएजस्तो गण्डकीमा एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने कुनै पनि सम्भावना नरहेको राप्रपाले जनाएकाे छ । राप्रपा वर्तमान सत्ता गठवन्धनलाई कतै पनि सहयोग नगर्ने आफ्नो निर्णयमा अडिक रहने भएको छ । गण्डकीमा राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले एमाले नेतृत्वको सरकारलाई समर्थन गर्न सक्ने अभिव्यक्ति दिएका थिए । तर, पार्टी नेतृत्वले उनलाई त्यस्तो निर्णय नलिन सचेत गराइसकेका छन् ।
गण्डकीमा अधिकारीको सरकारविरुद्ध परेको रिटमा सर्वोच्चले उनको पक्षमा निर्णय सुनाएको थियो । ३० जनाले नै बहुमत पुग्ने भनेर सर्वोच्चले ब्याख्या गरेपछि गण्डकी सरकार जोगिएको छ । यद्यपि, विश्वासको मत लिँदा ३१ जनाकै समर्थन चाहिने कांग्रेसले बताइरहेको छ । राप्रपाले समर्थन गरेको खण्डमा खगराज सरकार सुरक्षित रहनेछ । तर, राप्रपा अहिले सत्ता गठवन्धनभन्दा पनि कांग्रेससँग सहकार्यको मुडमा छ ।