काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेले आफू षडयन्त्रको सिकार भएको बताएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका लामिछानेले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफू षडयन्त्रको सिकार भएकोमा कुनै शंका नरहेको बताएका हुन् ।
उनले आफू विरुद्ध षडयन्त्र गर्नेलाई भगवानले मूल्याङ्कन गर्ने भन्दै सत्यतथ्य सबै कुरा समयसँगै बाहिर आउने बताएका छन् ।
उनले लेखेका छन्, ‘म लामो समय मौन रहे । म षडयन्त्रको सिकार भएकोमा मलाई कुनै शंका छैन। यस षडयन्त्रका लागि आफ्नो भूमिका निर्वाह गर्ने सबैलाई ईश्वरले कल्याण गरून्। सबै कुरा ईश्वरमा छोडिदिन्छु। समयले सत्य प्रकट गरेर बताउनेछ।’
आज मात्रै नेपाल क्रिकेट संघ (क्यान)ले आसन्न टि–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो । उच्च अदालतमा सन्दीपको मुद्दा विचाराधीन रहँदा उनी विश्वकपको टोलीमा समावेश हुन सकेनन् ।