वीरगंज– पर्साको धोबिनी गाउँपालिकामा रहेको स्वास्थ्य संस्थाहरूमा औषधी अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन्।
स्वास्थ्य संस्थाहरूमा ९८ किसिमका औषधी खरिद गरी निःशुल्क वितरण गर्ने सरकारको नियम रहे पनि अहिले धोबिनीको वडा नं ४ लंगडी स्वास्थ्य संस्थाहरूमा औषधी नरहेको कारण सेवाग्राहीहरू रित्तो हात फर्कन बाध्य भएका छन्।
नेपाल सरकारले स्थानीय तहमा सिंहदरबार पठाउने गरेकोमा सरकारले दरबार आफै राख्यो गाउँ गाउँ सिंह पठाएर भ्रष्टाचारको अखडा खडा गरेको स्थानीय बताउँछन् । गाउँपालिकाबाट औषधी खरिदको लागि रकम छुटाए पनि गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साह बिच कमिसनको भागबन्डा नमिलेका कारण औषधी खरिद नभएको स्थानीयले आरोप लगाए।
स्वास्थ्य संस्थामा अहिलेसम्म बितेको आर्थिक वर्षमा खरिद गरिएको औषधिहरू स्वास्थ्य संस्थाहरूमा रहेकोले यो आर्थिक वर्षमा कमिसनमा भागभण्डा नमिलेको कारण यो आर्थिक वर्षमा औषधी खरिद नभएको देखिएको छ। यो आर्थिक वर्षको अन्तिम चरणसम्म औषधी खरिद नभएको कारण कागजमा नै औषधीको बिल बनाएर खाने अध्यक्ष र कार्यालय प्रमुखको नियत देखिन्छ।
स्वास्थ्य संस्थाहरूमा ५ महिना देखि औषधी नरहेकोले स्वास्थ्य संस्था आउने बिरामीहरूले बिना औषधी फर्केर जाने गरेका छन् । नेपाल सरकारले ९८ किसिमका औषधी तोकिए पनि भ्याक्सिन, बर्थिंङ सेन्टर बाहेक औषधी तथा अन्य कुनै औषधी नरहेको र अति नै गर्मीको समयमा ग्यासको समेत औषधी नरहेको लंगडी स्वास्थ्य संस्थाका प्रमुख मन्नु पटेलले जनाए ।
स्वास्थ्य संस्था प्रमुख पटेलसँग कुरा गर्दा केही महिना देखि औषधी सकिएको भए पनि अहिलेसम्म उपलब्ध नभएको बताए । ‘मैले लिखित कति चोटि औषधी माग गर्दा अहिलेसम्म कुनै सुनुवाइ भएको छैन,’ उनले भने ‘अहिले गर्मीयाममा बिरामीको चाप बढिरहेको तथा रुगाखोकी जरो, दिसा पखाला, ग्यास, घाउ, जीवनजललगायत औषधीको अभावका कारण बिरामीहरू रित्तो हात फर्कन बाध्य भएका छन् ।’
स्वास्थ्य संस्थाहरूमा औषधी अभाव भएको सबन्धमा गाउँपालिका स्वास्थ्य संयोजक सञ्जय यादवसँग कुरा गर्दा स्वास्थ्य संस्थाबाट औषधी मागको बारेमा गाउँपालिकालाई जानकारी गराए पनि अहिलेसम्म औषधी खरिद नभएको बताए ।
स्टोरमा रहेको केही औंषधीहरु मात्र वितरण गरिएको उनले बताए ।
औषधीको बारेमा प्रमुख प्रशासकीय अधिकृत प्रमोद साहसँग फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।