+
Search

ताजा अपडेट +

पपुलर +

प्रशासनको आडमा भंगाहा नगरपालिकामा तस्करहरूको ‘रजाइँ’

पालिका लाइभ
२०८१ बैशाख १, शनिबार १५:५२ गते

महोत्तरी– भंगाहा नगरपालिकामा व्यापक नदीजन्य पदार्थको दोहन भएको जनगुनासो बढेको छ । नदी र वन क्षेत्रमा गहिरा खाल्डा खनेर दोहन हुँदा पनि सरोकारवालाहरूले बेवास्ता गरेकोप्रति स्थानीयहरूले आक्रोश व्यक्त गर्न थालेका छन् ।

‘रातु नदीको खण्डमा मात्र हैन वनभित्र समेत व्यापक उत्खनन भइरहेको छ । तर नगर, वडालाई खबर गर्दा उहाँहरूले कुनै पनि चासो देखाउनु भएको छैन’, स्थानीय हिरालाल महतोले भने, ‘नदी त सखाप नै बनाएर वातावरण प्रतिकुल असर पर्ने गरी तस्करहरू लागी परेका छन् ।’

स्थानीयका अनुसार भंगाहा नगर क्षेत्रमा मात्र १८ वटा क्रसर उद्योग छन् त्यसमध्ये ९ वटा सञ्चालनरत छन् । क्रसरहरूले नै राति-राति अवैध उत्खनन गर्ने गरेको र केही ट्याक्टर धनीहरूले समेत उत्खननमा सहभागी हुने गरेको स्थानीयहरूको दाबी छ ।

नगर क्षेत्रमा अवैध उत्खनन भइरहेको वडा नं ४ का वडाध्यक्ष गणेश महतो समेत स्वीकार गर्छन् । ‘कन्यौ पटक हामी रोक्नको लागि खोलामा नै पुगेका छौ  तर उनीहरू टेर्ने अवस्थामा छैनन् ।’ वडाध्यक्ष महतोले भने, ‘कानुन हातमा लिएर जुन प्रकारको क्रसर र केही व्यापारीहरूले मनोमानी गरेका छन् त्यो अत्यन्त दुखद छ ।’

बान्द्रा र प्रेमनगर बिचमा पर्ने जङ्गल क्षेत्रमा निक्कै भयावह ढङ्गले दोहन भएको दावी छ । जङ्गल क्षेत्रमा दोहन भएपछि जिल्ला वन कार्यालयलाई समेत जानकारी गराएको बत्ताउँदै वडाध्यक्ष महतोले सरोकारवालाहरूको मौनतामाथि शङ्का उत्पन्न भइरहेको बत्ताएका छन् ।

जिल्ला वन कार्यालय प्रमुख सन्तोष झाले भने दोहनको विषयमा आफूहरू जानकार रहेको र त्यसको विषयमा स्थलगत अनुगमन समेत गरिसकेको बताएका छन् । प्रमुख झाका अनुसार अनुगमनपछि पनि स्थानीय क्षेत्रवाट जनगुनासो आइरहेको र कतिपयलाई सचेत गराएर प्रारम्भिक प्रक्रियामा अगाडी बढी सकेको जनाएका छन् ।

‘अघिल्लो पटक अनुगमन गर्दा केही व्यक्तिको निजी जग्गा वाट माटो उत्खनन गरेको देखिएको थियो । हामीले उनीहरूलाई आईइ रिपोर्ट लगायत प्रक्रिया विना उत्खनन गर्न नमिल्ने भनेर सचेत गरिसकेका छौ’, प्रमुख झाले भने ‘नत्र कानुनी प्रक्रियामा अगाडी बढ्नु पर्ने देखिन्छ ।’

नगर क्षेत्रमा भइरहेको अनियन्त्रित दोहनलाई लिएर जिल्ला समन्वय समितिले समेत ध्यानाकर्षण जनाएको छ ।

कानुनको परिधिमा रहेर काम गर्नेहरूलाई सम्मान गर्ने तर कानुन हातमा लिएर तस्करी गर्ने जोकोही कानुनको भागीदार हुनुपर्ने बत्ताउँदै समन्वय समितिका सभापति सुमनलाल कर्णले वन तथा नदी क्षेत्रमा भइरहेको दोहनको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाए ।

प्रशासनको भूमिकामाथि शङ्का

स्थानीयहरूले प्रशासनको भूमिकामाथि भने प्रश्न उठाएका छन् । नजिकमा रहेका प्रहरीहरूलाई खबर गर्दा उल्टै टिपर तथा उत्त्खननस्थलवाट भगाउने गरेको स्थानीयहरूको दाबी छ ।

स्थानीय प्रभु महतोले प्रहरीलाई हजारौँ पटक खबर गर्दा पनि मौन रहेको बताए । ‘म आफैले धेरै पटक प्रहरीलाई भनेको छु तर प्रहरीले उल्टै संरक्षण गरेका छन्’, महतोले भने ‘घर नजिकै छ रातभरि खोला र वन क्षेत्र खन्नेका कारण ठुलो आवाजले सुत्न नै सकिँदैन ।’

जिल्ला प्रहरी कार्यालय प्रमुख नकुल पोखरेलले आरोप लगाएजस्तो नभएको बताए । ‘हिजो मात्र हामीले अवैध दोहनमा सक्रिय जेसिवी र टिपर पक्राउ गरेका छौ’, उनले भने ‘यो विषय समन्वय समितिलाई जानकारी गराएका छौ ।’

प्रशासनको नै मिलेमतोमा दोहन भइरहेको विषयलाई अन्य स्थानीयहरूले पनि आशङ्का गरेका छन् । स्थानीय राजीव साह प्रहरीको नै मिलेमतोमा तस्करी भएको दाबी गर्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ