+
Search

ताजा अपडेट +

पपुलर +

मुक्तिनाथ बैंकले सामाजिक सुरक्षा भत्ताको भुक्तानी दिन आनाकानी

पालिका लाइभ
२०८० मंसिर २६, मंगलवार

सिरहा– गोलबजार नगरपालिका–४ स्थित मुक्तिनाथ विकास बैंकले कर्मचारी अभाव भएको भन्दै सामाजिक सुरक्षा भत्ता वितरणमा आनाकानी गरेको छ ।

बैंकले समयमा सामाजिक सुरक्षा भत्ता उपलब्ध नगराउँदा नगरपालिका ७ र ८ नम्बर वडाका ज्येष्ठ नागरिक, एकल महिलासहित एक हजार दुई ७७ जना लाभग्राही मर्कामा परेका हुन् ।

नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमासिक किस्ता एक साता अघि नै सबै प्रक्रिया पूरा गरी पठाएको जनाएको छ । बैंकले भने अझै भुक्तानी प्रक्रिया अगाडि नबढाएको सेवाग्राहीको गुनासो छ । नगरपालिका–८ की एकल महिला सुजानदेवी यादवले पैसा आएकै छैन भनेर बैंकले फर्काइदिएको दुखेसो पोखिन् ।

त्यही पैसाबाट जाडो छल्न लुगाफाटो र खाद्यान्न किन्ने योजना बनाएकी उनले समयमै भुक्तानी नपाउँदा समस्या भइरहेको बताइन् ।

गोलबजार–८ का ज्येष्ठ नागरिक राशलाल यादव पनि सामाजिक सुरक्षा भत्ता नआउँदा समस्या भएको बताउँछन् । ‘बैंकमा पछिल्लो पाँच दिनदेखि धाइरहेको छु । उपचारको लागि विराटनगर जानुपर्ने छ । बैंकले पुस १ गते आउनु भनेर फर्काइदियो,’ उनले भने ।

यता मुक्तिनाथ विकास बैंकले कर्मचारी अभाव, आन्तरिक लेखा परीक्षण र बैंकका म्यानेजर पनि बिदामा रहेकाले वितरण गर्न नसकिएको जनाएको छ ।

बैंकका अपरेशन इन्चार्ज मुकेश कुमार साहले भने, ‘नगरपालिकाले पनि ढिलोगरी पैसा पठायो, हाम्रो पनि आन्तरिक लेखा परीक्षण, नयाँ र थोरै कर्मचारी भएकाले वितरण गर्न समस्या भएको हो । हामी सल्लाह गरेर एक/दुई दिनभित्रै वितरण प्रक्रिया अगाडि बढाउँछौँ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ