पोर्चुगल– सिरानचोक गाउँपालिका-२, थालाजुङकाे माथिल्लो पाम ताकमारे घर भएका चेक बहादुर गुरुङको पोर्चुगलको पिगोएसमा मृत्यु भएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा गत चैत्र २७ गते पोल्यान्ड आएका उनी करिब सात महिना पोल्यान्डमा काम गरेर दुई हप्ता अघि मात्रै पोर्चुगल प्रवेश गरेका थिए । उनकाे कार्तिक २३ गते मृत्यु भएको हाे ।
उनी पोर्चुगलमा काम नपाएर बसेका थिए । अघिल्लो दिन मात्रै भोलि दिउँसो कामको लागि सम्झौता गर्न जाने भनेका गुरूङ मृत अवस्थामा भेटिएको हुन् ।
उनको शव पोस्टमार्टमको लागि स्थानीय अस्पताल पुर्याइएको पोर्चुगलमा कार्यरत प्रदीप अधिकारीले जानकारी दिए । घरमा उनका बुबा क्यान्सर रोगबाट ग्रसित छन् । बुबाको उपचार खर्च जुटाउन तथा छोरा-छोरीको उज्ज्वल भविष्यका लागि आफन्त र छिमेकीसंग ऋण खोजेर उनी विदेश गएका थिए ।
कमाउन गएको छोरो अचानक मृत्यु हुँदा घरपरिवारको बिचल्ली हुने भएको छ । आर्थिक संकटको कारण मृतकको शव नेपालमा कसरी ल्याउने भन्ने ठुलो चिन्ता परेको छ । सास फेला नपारे पनि मेरो छोराको लास नेपाल झिकाई दिन नेपाल सरकार र विदेशमा रहेका विभिन्न संघ-संस्थाहरुसंग पिता लीला र माता बिचले हारगुहार गरिरहेका छन् ।
यसै गरी मृतक गुरुङको शव छिटो नेपाल झिकाइदिन परराष्ट्रमन्त्रीको सचिवालयले नेपाली राजदूतावास फ्रान्समा पत्राचार गरेको छ ।
साथै, सिरानचोक गाउँपालिकाले शव नेपाल झिकाउन गैरआवसीय नेपाली संघ पोर्चुगललाई र आर्थिक सहयोगका लागि तमु समाज पोर्चुगललाई छुट्टाछुट्टै पत्राचार गरेको छ ।
चेक बहादुरको श्रीमती, एक छोरी र एक छोरा छन् ।