+
Search

ताजा अपडेट +

पपुलर +

घरजग्गा कर्जा प्रवाह गर्दा प्रिमियम दरभन्दा कम ब्याज तोक्न माग

पालिका लाइभ
२०८० भाद्र ७, बिहीबार

काठमाडौं– नेपाल जग्गा तथा आवास विकास महासंघले घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्दा तोकिने प्रिमियम दर कम ब्याजदर तोक्न माग गरेको छ । आज नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल बैंकर्स संघका भएको छलफलमा सो कुराको माग गरेको हो ।

घरजग्गा कारोबारलाई प्रवर्द्धन गरी अर्थतन्त्र चलायमान गर्ने विषयमा महासंघ र संघबीच छलफल भएको हो ।

धितो र कर्जाको अनुपात, जग्गा तथा घरको बजार मूल्य निर्धारणका सुत्रहरु, घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्दाको प्रिमियम, डिपोजिटको ब्याजदर र जग्गाको हदबन्दी गरी मुख्यतः ५ वटा विषयमा केन्द्रित रहेर छलफल भएको महासंघ अध्यक्ष भेषराज लोहनीले बताए ।

उनले भने, ‘कर्जा र धितोको अनुपात (लोन टु भ्यालु रेसियो) ७० प्रतिशत पुर्याउनुपर्ने, घरजग्गा बजार मूल्यमा एकरुपता कायम गर्न त्यस्तो मूल्य निर्धारण गर्ने सुत्र एउटै हुनुपर्छ । घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्दा तोकिने प्रिमियम दर कम र डिपोजिटको ब्याजदर तोक्दा बैंकहरुबीच प्रतिस्पर्धा नगरी बैंकहरुबीच भद्र सहमति गरेर ब्याजदर तोक्नु पर्यो । मान्यताप्राप्त घरजग्गा व्यवसायका हकमा हदबन्दी छुट गर्नुपर्छ ।’

महासंघको धारणालाई सकारात्मक रुपमा लिँदै बैंकर्सका अध्यक्ष सुनिल केसीले यसबारे थप अध्ययन गरी महासंघ र संघले संयुक्तरुपमा पहल गर्ने बताए । घरजग्गाको कारोबारलाई प्रवर्द्धन गरी मुलुकको अर्थतन्त्रलाई चलायमान गर्नमा योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

छलफलमा महासंघ र संघका कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ